नयाँ लेन र जेब्राक्रस थपिने, ट्राफिक व्यवस्थापन सहज हुने दाबी
सवारीसाधनको ओहोरदोहोरका कारण सधैँ व्यस्त हुने नयाँ बानेश्वर चोकलाई ‘मोडिफाई’ गर्न थालिएको छ । सडक विभागले पाइलट परियोजनाअन्तर्गत दायाँ–बायाँ (तीनकुनेतिरबाट शंखमूल र माइतीघरबाट शंखमूलतर्फ) मोडिने सवारीसाधनलाई लक्षित गर्दै ‘राइट ट्रनिङ डोल्डिङ जोन’ निर्माण गर्न थालेको हो । यसका लागि दुई सय मिटरको छुट्टै लेन थप्न लागेको हो । विभागले पहिलो चरणमा नयाँ बानेश्वर चोक सुधार गर्ने र त्यसका आधारमा अन्य व्यस्त चोकका पनि सुधारका योजना अघि सारेको छ ।
विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार जेब्राक्रससहित दायाँ–बायाँतर्फ मोडिने लेन निर्माण गर्न थालिएको हो । हाल सडकको बीचभाग अर्थात् डिभाइडरको ठाउँमा दुवैतिर फूल तथा बोटबिरुवा छन् । त्यसलाई उखेलेर करिब दुई सय मिटर क्षेत्रमा नयाँ लेन थपी दायाँतर्फ मोडिने सवारीसाधनका लागि सहज पार्न लागिएको हो । ‘यसको पूर्णकालीन समाधान ‘फ्लाई ओभर,’ ‘अन्डर पास’ हो, अहिलेका लागि अस्थायी रूपमा चोक व्यवस्थापन गर्न थालेका हौँ,’ प्रवक्ता पोखरेलले भने, ‘थोरै ठाउँमा धेरै सवारीसाधन कसरी व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा यो काम सुरु भएको हो ।’
उनका अनुसार जापानको सहयोग नियोग जाइकाको करिब ६३ लाख बजेटमा ‘राइट ट्रनिङ डोल्डिङ जोन’ निर्माण हुन लागेको हो । यसले मीनभवन तथा बबरमहलतर्फबाट आएको गाडीलाई सहज हुनेछ । चोक व्यवस्थापनबारे जाइका र विभागको टोलीले अध्ययन गरेको थियो । ट्राफिक जाम व्यवस्थापन गर्न मीनभवन र बुद्धनगरतर्फ एक–एकवटा लेन थपिनेछन् ।
त्यसमा दायाँतर्फ मोडिने गाडीहरू होल्डिङ हुनेछन् । हाल सडकखण्डको बीच (मेडियन)मा लगाइएका रूखबिरुवा हटाएर रातिको समयमा चोक व्यवस्थापनको काम भइरहेको छ । यो निर्माण भएपछि माइतीघरतिरबाट आएका सवारीसाधन र मीनभवनतर्फबाट शंकमूलतर्फ जाने सवारीसाधन नयाँ लेनमा बस्नेछन् । चोकको दुईपट्टि गरेर जेब्राक्रससहित दुई सय मिटर नयाँ लेन निर्माण हुनेछ । नयाँ बानेश्वरमा यसरी बनाइएको चोक व्यवस्थापन राम्रो देखिएमा यसलाई लैनचौरसहितका अन्य चोकमा पनि विस्तार गरिनेछ ।