पूर्वच्याम्पियन जापान तथा स्पेनले फिफा महिला विश्वकप फुटबलको नकआउट चरण स्थान पक्का गरेका छन् । अस्ट्रेलिया र न्युजिल्यान्डमा चलिरहेको विश्वकपअन्तर्गत बुधबार समूह ‘सी’मा आ–आफ्नो खेलमा जित निकाली जापान र स्पेनले प्रिक्वार्टरफाइनल स्थान सुरक्षित गरेका हुन् । यस समूहबाट कोस्टारिका र जाम्बिया अंकविहीन हुँदै बाहिरिएका छन् । स्पेन र जापानले दुई खेलबाट समान ६ अंक जोडेका छन् । अब स्पेन र जापानबीचको अन्तिम खेलबाट समूह विजेताको टुंगो लाग्नेछ ।
न्युजिल्यान्डको फोर्सिथ मैदानमा एकपटकको पूर्वविजेता जापानले उत्कृष्ट प्रदर्शन गर्दै कोस्टारिकालाई २–० ले हरायो । पहिलो खेलमा स्पेनले जाम्बियालाई ५–० ले हराएको थियो । १९ वर्ष १८० दिनकी फुजिनो जापानका लागि सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेकी छिन् । खेलको २५औँ मिनेटमा नाओमोटाले जापानलाई १–० को अग्रता दिलाइन् । खेलको २७औँ मिनेटमा फुजिनोले २–० को अग्रता दिलाइन् ।
स्पेनिस खेलाडी जेनिफर हेर्मोसोले एक सय अन्तर्राष्ट्रिय गोल पूरा गरेकी छिन् । उनले यो सफलता जाम्बियाविरुद्ध प्राप्त गरेको हो । आफ्नो एक सय अन्तर्राष्ट्रिय खेलमा उनले जाम्बियाविरुद्ध दुई गोल गरिन् । ‘लगातार दोस्रो जित निकाल्न सफल भएका छौँ, हामीले दुईवटै खेलमा सहज नतिजा निकाल्यौँ,’ जेनिफरले भनिन् । उनको यो तेस्रोपटक विश्वकप सहभागिता हो ।
क्यानडाको संघर्षपूर्ण जित
ओलम्पिक स्वर्ण पदक विजेता क्यानडाले विश्वकपमा पहिलो जित निकालेको छ । सिड्नीमा क्यानडाले आयरल्यान्डमाथि २–१ को पुनरागमन जित निकालेको हो । पहिलो खेलमा क्यानडा नाइजेरियासँग गोलरहित बराबरीमा रोकिएको थियो । जितसँगै दुई खेलमा चार अंक जोडेको क्यानडा समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ ।
दोस्रो हारपछि आयरल्यान्ड अंकविहीन छ । यस समूहबाट क्यानडा र आयोजक अस्ट्रेलियाको नकआउट सम्भावना छ । चौथो मिनेटमा म्याककेबले आयरल्यान्डलाई १–० को अग्रता दिलाइन् । उनी विश्वकपमा गोल गर्ने पहिलो आयरिस खेलाडी बनिन् । पहिलो हाफको इन्जुरी समयमा मेगन कोनोलीले आत्माघाती गोल गरेपछि क्यानडा १–१ को बराबरीमा पुग्यो । ५३औँ मिनेटमा एड्रियाना लियोनले गोल गर्दै क्यानडालाई २–१ को पुनरागन जित दिलाइन् ।