महानगरले विद्यालय व्यवस्थापन समिति भंग गरेर वडाध्यक्षलाई जिम्मेवारी दिन लागेको विषयमा के भन्नुहुन्छ ?
महानगरले न्यायिक हिसाबले बेठिक गरेको छ । व्यवस्थापन समितिले गरेको कामको अध्ययन नै नगरी आफैँ जान्ने भएर विव्यस बनाउन खोज्नु गलत हो । जनप्रतिनिधि व्यस्त हुन्छन् । उनीहरूले विद्यालयलाई समय दिन भ्याउँदैनन् । अधिकारका दृष्टिकोणबाट हेर्दा पनि अध्यक्ष अभिभावकबाटै हुनुपर्ने प्रावधान छ ।
वडाध्यक्षले विव्यस चलाउँदाको परिणाम कस्तो आउन सक्ला ?
महनगर आफैँले बनाएको व्यवस्थापन समितिले राम्रो गरेन भने भंग गर्न र नयाँ बनाउन त सहज हुन्छ । तर, वडाध्यक्षलाई विव्यसको अधिकार दिँदैमा परिणाम राम्रो आउँदैन । जनप्रतिनिधि हुनेबित्तिकै दलियता झ्न बलियो हुन्छ । त्यसले अर्को झमेला सिर्जना गर्छ । यसअघि भक्तपुरको सूर्यविनायक नगरपालिकाले यस्तो अभ्यास गरिसकेको छ । तर, त्यहाँ विद्यालयको अवस्थामा सुधार भएको छैन ।
महानगरले त विव्यसको जिम्मेवारी वडाध्यक्षलाई दिएपछि विद्यालयमा थप सुधार हुने तर्क गर्दै आइरहेको छ नि ?
व्यवस्थापन समितिलाई चलायमान बनाउन वडाध्यक्ष पनि चलायमान हुनुपर्छ तर वडाध्यक्षले समय दिन नसक्दा सूर्यविनायक क्षेत्रका स्कुलमा विव्यसको भूमिका कमजोर देखिएको छ । त्यस्तै, नवलपुरको कावासोती नगरपालिकाले गत वर्ष विद्यालय व्यवस्थापन समिति र शिक्षकलाई राखेर विव्यसबारे छलफल गरेको थियो । त्यसमा नगरप्रमुखले प्रधानाध्यापक र विव्यस अध्यक्षको जिम्मेवारीमाथि प्रश्न उठाउँदै थप जिम्मेवार हुन निर्देशन दिएका थिए । त्यतिबेला त्यहाँका केही वडाध्यक्षले विव्यस अध्यक्ष आफूलाई बनाउनुपर्ने प्रस्ताव राखे पनि नगरपालिकाले भइरहेकै विव्यस र प्रअलाई थप जिम्मेवार बनाएको थियो ।