गुल्मीको मदानेमा घर भत्किँदा तीनजना घाइते

बुधबार, १० साउन, २०८०
डिजिटल संस्करण

गुल्मीको मदाने गाउँपालिका– २ बाँझकटेरीस्थित भेडिखोर बस्ने मुक्तबहादुर घर्तीको घर भत्किँदा तीनजना घाइते भएका छन्। 

टिनले छाएको दुईतले कच्ची घरको पूर्वतर्फको भित्ता भत्किँदा पिँढीमा बसेकी छोरी १२ वर्षीया करिश्मा घर्ती र छोरा नाै वर्षीय हिक्मत घर्तीमगर घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

हिक्मतको टाउकोमा चोट लागेको छ। त्यस्तै, सोही स्थानकै देउवा परियारको छोरा १० वर्षीय अम्मर परियारको टाउकोमा ठूलो चोट लागेको छ। घाइते तीनैजनाको मदाने सामुदायिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, मदाने गाउँपालिकाकै वडा नम्बर १ अग्लुङमा स्थानीय दुर्गा विकको घरगोठ जलेर नष्ट भएको छ। मानसिक समस्या रहेकी बहिनी ३२ वर्षीया मीना विकले घरगोठमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ।

प्रारम्भिक रूपमा करिब १२ लाखको क्षति भएको बताइएको छ। परिवारलाई स्थानीयको आश्रयमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिल्लीनारायण पाण्डेयले बताए।

सुझावित समाचार