बालबालिका नयाँ–नयाँ काम गर्न रुचाउँछन् । चित्रकलाले उनीहरूलाई व्यस्त राख्न र सिर्जनात्मक बनाउन सहयोग गर्छ । आँखा र हातबीचको संयोजन राम्ररी विकास हुन पाउँछ । भावनात्मक बौद्धिकता, आत्मजागरण र आत्मविश्वास वृद्धि गर्न सहयोग गर्छ । कुनै एउटा चित्र बनाउँदा उनीहरूले निकै ध्यान दिइरहेका हुन्छन् । त्यही कारण ध्यानशक्ति बढेर जान्छ ।
फुर्सदको समय चित्र कोर्ने बानी बसाल्दा तनाव कम हुन्छ र दिमागले नकारात्मक कुराहरू सोच्न पाउँदैन । चित्रकला अभिव्यक्तिको एक सशक्त स्वरूप हो । रङको आफ्नै अर्थ र भाव हुन्छ । त्यसले मनलाई ऊर्जाशील र रचनात्मक बनाउँछ । स्वतन्त्रताको प्रत्याभूति दिलाउँछ । चित्रकलाले समस्या समाधान गर्ने खुबी पनि बढाउँछ । त्यस्तै, आत्मशान्ति, आत्मसम्मान र आत्मविश्वास बढाउँछ ।
चित्र बनाइसकेपछि उनीहरूले रिफ्रेस अनुभूत गर्छन् । उनीहरूका चित्र हेरेर बाबु–आमाले पनि सकारात्मक प्रतिक्रिया दिनुपर्छ । किनकि, बच्चाले बनाएको चित्र तपाईंलाई नराम्रो पनि लाग्न सक्ला, तर नराम्रो भनिदिँदा उनीहरूको ऊर्जा कम भएर जान्छ । बरु, उनीहरूलाई चित्रकला प्रदर्शनीमा लैजान सकिन्छ । जहाँ उनीहरूले अरूका चित्रकला पनि नजिकबाट नियाल्न पाउँछन् । चित्र कोर्ने अन्य मानिससँग अन्तरक्रिया गर्न पाउँछन् । यसले चित्रकलाको भावलाई बुझ्न र अनुभूत गर्न सहयोग गर्छ । त्यस्तै, उनीहरूलाई सामाजिक बन्न र टिमवर्कमा विश्वास गर्न प्रेरित गर्छ ।