अल हिलालको प्रस्तावमा पिएसजी लोभियो

साउदी अरेबियन क्लब अल हिलालद्वारा फ्रेन्च स्ट्राइकर केलियन एम्बाप्पे भित्र्याउन दुई सय ५९ मिलियन पाउन्डको प्रस्ताव

बुधबार, १० साउन, २०८०
डिजिटल संस्करण

साउदी अरेबियाको प्रो लिगमा आबद्ध अल हिलालले २४ वर्षीय फ्रेन्च स्ट्राइकर केलियन एम्बाप्पेलाई भित्र्याउन प्रस्तावित रकम परिमार्जन गरेको छ । यसपटक अल हिलालले एम्बाप्पेलाई अनुबन्ध गर्न २५९ मिलियन पाउन्डको प्रस्ताव राखेको छ । साउदी क्लबले राखेको प्रस्ताव ४३ अर्ब ६५ करोड १७ लाख ६८ हजार ६५० नेपाली रुपैयाँ हुन आउँछ । अघिल्लोपटक एम्बाप्पेलाई १७३ मिलियन पाउन्ड प्रस्ताव राखेको थियो । अल हिलालले फ्रेन्च स्ट्राइकरलाई जसरी पनि भिœयाउने योजनाका साथ रकम बढाएको हो । 

साउदी क्लबले नयाँ प्रस्ताव पठाएपछि एम्बाप्पेआबद्ध पेरिस सेन्ट जर्मेन (पिएसजी) सकारात्मक देखिएको छ । पिएसजीले एम्बाप्पेलाई अल हिलालसँग वार्ता गर्न ‘ग्रिन सिग्नल’ दिएको छ । साउदी क्लबले फ्रेन्च खेलाडीलाई केवल एक वर्षका लागि मात्र सम्झौता गर्नेछ । एम्बाप्पेको मुख्य लक्ष्य नै स्पेनिस क्लब रियल म्याड्रिडमा जानु हो । 

एक सिजन अल हिलालमा बिताएपछि म्याड्रिड जान उनीमाथि कुनै रोक लगाइनेछैन । पिएसजीसँग उनको सम्झौता एक वर्ष बाँकी छ । सम्झौता सकिएपछि उनी फ्री ट्रान्सफरमा म्याड्रिड जान सक्नेछन् । पिएसजी उनलाई फ्री ट्रान्सफरमा अन्य क्लबमा जान दिने पक्षमा छैन । यसै कारण पिएसजीले यसै सिजनमा उनलाई बेच्ने योजना बनाएको हो । एम्बाप्पेलाई बिक्री गरेर पिएसजीले मोटो रकम आर्जन गर्ने मनसाय बनाएको छ । 

एम्बाप्पे सहमत भए यो बिक्री रकम विश्व कीर्तिमानी हुनेछ । सन् २०१७ मा पिएसजीले नेमारलाई बार्सिलोनाबाट विश्व कीर्तिमानी दुई सय मिलियन पाउन्डमा खरिद गरेको थियो । त्यही वर्ष नै पिएसजीले मोनाकोबाट एम्बाप्पेलाई १६६ मिलियन पाउन्डमा अनुबन्ध ग¥यो । पिएसजीसँग सम्झौता नवीकरण नगर्ने घोषणा गरेका एम्बाप्पेलाई फ्रेन्च क्लबले प्री–सिजनअघिको जापान र दक्षिण कोरियाको भ्रमणमा संलग्न गराएको छैन ।

साउदी अरेबियन इनभेस्टमेन्ट फन्डबाट सञ्चालित प्रो लिग क्लब अल हिलालले यो सिजनमा रुबिन नेभिस र कालिदो कौलिबालीजस्ता युरोपका नाम चलेका खेलाडीलाई अनुबन्ध गरिसकेको छ । अर्कोतिर, अल नासेरले पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई १७३ मिलियन युरोमा भित्र्याएको थियो । 

सुझावित समाचार