अवैतनिक वाणिज्य तथा महावाणिज्य दूतहरूको संगठन अनररी कन्सुलर कर्प्स नेपाल (एचसिसिएन)को डिनमा चेक रिपब्लिकका अनररी कन्सुल जनरल विष्णुकुमार अग्रवाल नियुक्त भएका छन् । एचसिसिएनको १६औँ साधारणसभा तथा चार्टर डेमा सभाले अग्रवाललाई नयाँ डिनका रूपमा नियुक्त गरेको हो ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले कार्यक्रमको उद्घाटन गर्दै नेपालको दौत्य सम्बन्ध रहेका, तर आवासीय राजदूतावास नभएका विभिन्न ५९ देशमा अनररी कन्सुलर कर्प्सले पुर्याएको योगदानप्रति कृतज्ञता व्यक्त गरेका थिए । उनले भने, ‘आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि सबै राष्ट्रसँग सुमधुर सम्बन्ध बनाइराख्नु आजको आवश्यकता हो । यसमा एचसिसिएनको सहयोग रहने अपेक्षा गरेका छौँ ।’ नेपालमा लगानीका सम्भावना भएका क्षेत्रहरू धेरै रहेकाले विदेशी लगानी आकर्षित गर्न र नेपालले भोगिरहेको जलवायु परिवर्तनको समस्याको समाधानका लागि सम्बन्धित राष्ट्रसँग समन्वय गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
परराष्ट्रमन्त्री एनपी साउदले एचसिसिएनका सदस्य देशहरूलाई नेपाल भ्रमणका लागि मात्र गन्तव्य नभई लगानीको राम्रो गन्तव्य भएको सन्देश दिन आग्रह गरे । एचसिसिएनका डिन दिनेश श्रेष्ठले भियना कन्सभेन्सनअन्तर्गत रहेर एचसिसिएन र यसका सदस्यहरूले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको बताए । नेपाल भ्रमणमा रहेका एचसिसिएनको सम्बन्ध नागरिकको सुरक्षा र हेरचाहमा कुनै कमी नल्याएको उनको भनाइ थियो ।
सन् २०१० देखि चेक रिपब्लिकको अनररी कन्सुल रहेका अग्रवाललाई सन् २०१५ मा अनररी कन्सुल जनरलमा पदोन्नति गरिएको थियो । भर्खरै नेपाल उद्योग परिसंघको अध्यक्षको कार्यकाल सम्पन्न गरेका अग्रवाल एमएडब्लू ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुन् । उनलाई सन् २०१९ मा चेक रिपब्लिकको प्रागमा आयोजना भएको वर्ल्ड अनररी कन्सुलमा संसारकै सर्वोत्कृष्ट कन्सुल अवार्डबाट सम्मान गरिएको थियो ।