भाजपा अध्यक्ष नाड्डासँग माओवादी प्रतिनिधिमण्डलको भेटवार्ता

सोमबार, ८ साउन, २०८०
डिजिटल संस्करण
भाजपा अध्यक्ष नाड्डासँग माओवादी प्रतिनिधिमण्डलको भेटवार्ता

भाजपा मुख्यालयमा माओवादी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको प्रतिनिधिमण्डलका साथमा भाजपा नेताहरु । तस्बिर : रासस

भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहेको माओवादी केन्द्रको प्रतिनिधिमण्डलले सोमबार भाजपाका अध्यक्ष जगतप्रकाश (जेपी) नाड्डासँग भेटवार्ता गरेको छ । 

उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा गएको माओवादी केन्द्रको प्रतिनिभिमण्डलले नयाँ दिल्लीस्थित भाजपाको मुख्यालयमा गरेको भेटवार्तामा दुई पार्टीबीचको अनुभव आदानप्रदान एवं दुई देशबीच रहीआएको सम्बन्धका विविध विषयमा छलफल भएको थियो । 

भेटवार्ताबारे जानकारी दिँदै उपाध्यक्ष भुसालले दुई पार्टीबीचको सम्बन्ध विस्तार एवं दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल भएको बताइन् । भेटवार्ताका क्रममा दुई पार्टीका नेताहरूबीच गहिरो अन्तरक्रिया भएको भाजपाका उपाध्यक्ष विजयान्त पाण्डाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । 

प्रतिनिधिमण्डलले सोमबारै भाजपाको महिला मोर्चा, युवा मोर्चालगायत जनवर्गीय संगठनसँग पनि अन्तरक्रिया गरेको थियो । सो क्रममा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए) सरकारले विगत नौ वर्षमा सफल रूपमा कार्यान्वयन गरेको नीति तथा योजनाका बारेमा छलफल भएका थियो । 

माओवादी उपाध्यक्ष पम्फा भुसाललाई स्वागत गर्दै भाजपा अध्यक्ष चड्डा । तस्बिर : रासस

भेटमा भाजपाका नेताहरूले पार्टीको संस्थागत संरचना र निर्णय प्रक्रियाका बारेमा अनुभव आदानप्रदान गरेका थिए । सो भेटमा भाजपाका विदेश मामिला प्रमुखलगायत नेताको सहभागिता थियो ।

माओवादी केन्द्रका नेताले भाजपाको मुख्यालयको भ्रमण गरेका थिए । सो अवसरमा भाजपाको ऐतिहासिक यात्रासम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो । ‘भाजपालाई चिनौँ’ अभियानअन्तर्गत माओवादी केन्द्रका उपाध्यक्ष भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली आइतबार भारत प्रस्थान गरेको हो । 

टोलीमा माओवादी सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्या पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राई सहभागी छन् । (रासस)

सुझावित समाचार