नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने काममा आफू लागिरहने बताएका छन्।
सोमबार पार्टी केन्द्रीय समितिको बैठकमा उनले ३०/३५ वर्षदेखि केही व्यक्ति नै सत्ता र नेतृत्वमा घुमिरहँदा सबै पुराना राजनीतिक दल संकटमा परेको जिकिर गरे। थापाले संसदीय दलको नेता बदल्ने कुरा अहिलेको आवश्यकता भएको दाबी गर्दै आफू अझै संसदीय दलको नेता फर्न लागिपर्ने प्रस्ट्याए।
‘हामीले घुमिफिरी एकजना मात्रै नेतृत्वमा आउने प्रयास बदल्नुपर्छ। मेरो प्रयास जारी हुन्छ। त्यही भएर मैले नेपाली कांग्रेसको संसदीय दलको नेता बदल्ने प्रयास गरेँ। सकिनँ, परिणामलाई मानेँ, मान्नैपर्छ। तर, अब गर्नै मिल्दैन त, पार्टीको विधानले गर्न दिन्छ। आवश्यकता छ, सम्भव हुन्छ, कर्म गर्ने हो, फलको आशा नगर्ने हो,’ उनले भने।
महामन्त्री थापाले आफूले पार्टी फुटाउने कुरा नगरेको भन्दै संसदीय दलको नेता फेर्ने कुरा गर्दा आत्तिन नपर्ने बताए। वर्तमान सत्तागठबन्धनको नेता कांग्रेस भएकाले आफ्ना सर्तहरूमाथि सम्झौता गर्न नहुनेसमेत उनले प्रस्ट पारे।