निकुञ्ज विभागमा ढुंगानाले बाजी मारे, वनमा वाग्ले

आइतबार, ७ साउन, २०८०
डिजिटल संस्करण
निकुञ्ज विभागमा ढुंगानाले बाजी मारे, वनमा वाग्ले

शिव वाग्ले (बायाँ), सिन्धु ढुंगाना (दायाँ)

लामो रस्साकस्सीपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको महानिर्देशकमा सिन्धु ढुंगानाले बाजी मारेका छन्।

मुलुक संघीयतामा गएपछि वनको सबैभन्दा शक्तिशाली विभाग बनेको निकुञ्जमा महानिर्देशकका लागि सहसचिवहरूको तीव्र दौडधुप रहेका वेला वनमन्त्री वीरेन्द्र महतोले राष्ट्रपति तराई मधेस चुरे संरक्षण समितिका सदस्यसचिव ढुंगनालाई ल्याएका हुन्।

निकुञ्ज विभागका महानिर्देशक महेश्वर ढकाललाई चुरे उत्थानशील आयोजनामा पुर्याइएको छ। ढुंगाना र ढकाल निकुञ्ज विभागको महानिर्देशक बन्न तीन वर्षअघि लागेका थिए। त्यतिखेर दुबैले वन विभागमा नजाने, जसरी पनि निकुञ्ज विभागको महानिर्देशक बन्ने अड्डी कसेपछि ढुंगाना बागमती र ढकाल गण्डकी प्रदेश पुगेका थिए। तर, अहिले दुबैले पालैपालो निकुञ्ज विभागको महानिर्देशक बन्ने अवसर पाए।

वन तथा भूसंरक्षण विभागले एक महिनापछि महानिर्देशक पाएको छ। वन मन्त्रालय, योजना महाशाखा प्रमुख शिव वाग्ले वनको महानिर्देशक बनेका छन्। संघीयतासँगै वनका डिएफओ प्रदेश मातहत जानुका साथै वनतर्फका धेरै अधिकार प्रदेश र स्थानीय तहमातहत गएपछि वन विभाग अहिले दोस्रो रोजाइमा मात्र पर्दै गएको छ।

वन मन्त्रालयको वातावरण महाशाखाका प्रमुख मेघनाथ काफ्ले राष्ट्रपति चुरे संरक्षण समितिको सदस्य सचिव बनेका छन्। वन विभागको उपमहानिर्देशक मोहन काफ्ले बनेका छन्। रेड कार्यान्वयन इकाइका प्रमुख रामचन्द कँडेलको मन्त्रालयमा सरुवा भएको छ। उनको ठाउँमा वन विभागका उपमहानिर्देशक नवराज पुडासैनी आएका छन्।

बद्रीराज ढुंगाना वन तथा वातावरण मन्त्रालय पुग्दा मोहनदेव जोशी वनस्पति विभागको उपमहानिर्देशक बनेका छन्।

सुझावित समाचार