आ-आफ्ना पसल थापेर बसेका कम्युनिस्टलाई एकताबद्ध गर्न प्रयत्न गर्नुपर्छ : माधव नेपाल

आइतबार, ७ साउन, २०८०
डिजिटल संस्करण
आ-आफ्ना पसल थापेर बसेका कम्युनिस्टलाई एकताबद्ध गर्न प्रयत्न गर्नुपर्छ : माधव नेपाल

फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेश खानु नहुने बताएका छन्। आइतबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले यस्तो बताएका हुन्। 

नेता नेपालले कम्यनिस्ट पार्टीहरू आफ्ना–आफ्ना पसल थापेर बसेको भन्दै सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको बताए। मिल्न सक्ने, सहकार्य गर्न सक्नेहरूबीच सहकार्य र एकता गरेर अघि बढ्ने बताउँदै उनले कम्युनिस्टहरूलाई जति मिलाउन सक्यो त्यति धेरै शक्ति आर्जन गर्न सकिने जिकिर गरे। 

अध्यक्ष नेपालले कम्युनिस्टहरू जति धेरै विभाजित हुन्छन् त्यति धेरै नोक्सान हुने बताए। उनले भने, ‘कमरेड वामदेव गौतमले कम्युनिस्ट पार्टी शक्तिलाई मिलाउँ भनेर जोड दिनुभयो । सबै कम्यनिस्ट पार्टीहरू आफ्ना–आफ्ना पसल थापेर बसेका छन्, आफ्ना–आफ्नै पाराले चलिरहेका छन्। त्यसका बाबजुद पनि हामीले हरेश खानुहुँदैन । उहाँको संकल्प, उहाँको भावना अत्यन्त राम्रो छ । यस अर्थमा जो–जो जति मिल्न सक्छन् मिल्दै जाने हो । सहकार्य गर्दै जान सक्छन्, सहकार्य गर्दै जाने हो, यस अर्थमा हामीले हरेश खान जरुरी छैन, मिहिनेत गरेर प्रयत्न गर्नुपर्छ । जति शक्तिलाई मिलाउन सकियो, त्यति हामी बढी शक्ति आर्जन गर्न सक्छौँ । त्यति धेरै ऊर्जा पैदा गर्न सक्छ । जति हामी विभाजित बन्छौँ त्यति धरै नोक्सान हुन्छ, कम्युनिस्ट आन्दोलनको एकता, एकताबद्ध बनाउनका निम्ति हाम्रोतर्फबाट प्रयत्न हुनेछ।’

सुझावित समाचार