उपाधि दाबेदार इंग्ल्यान्डले न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी फिफा महिला विश्वकपमा विजयी सुरुवात गरेको छ । शनिबार ब्रिसबनमा भएको खेलमा इंग्ल्यान्डले हाइटीलाई १–० ले हराएको हो । जितसँगै समूह ‘डी’मा इंग्ल्यान्डले तीन अंक जोडेको छ । डेनमार्कले पनि तीन अंक जोड्दा हाइटी र चीन भने अंकविहीन छन् ।
युरोपियन च्याम्पियन इंग्ल्यान्डको जितमा जर्जिया स्टानवेले २९औँ मिनेटमा निर्णायक गोल गरेकी थिइन् । यद्यपि, खेलमा हाइटीले सानदार प्रदर्शन गरेको थियो । उसले इंग्ल्यान्डको आक्रमणलाई कमजोर बनायो । इंग्ल्यान्डले खेल जित्न निकै संघर्ष गर्नुपर्यो । भिडियो सहायक रेफ्री (भिएआर)मार्फत इंग्ल्यान्डले पेनाल्टी पाएको थियो ।
हाइटीकी बात्चेबा लोइसले बक्सभित्र हातले बल छोएपछि इंग्ल्यान्डले अग्रता बनाउने अवसर पाएको हो । सन् २०१५ पछि इंग्ल्यान्डले समूह चरणको अपराजित यात्रा ६ खेलसम्म पुर्याएको छ । हाइटीले डेब्यु विश्वकप यात्रामा सानदार प्रदर्शन गरेको थियो । केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन ।
इंग्ल्यान्डकी प्रशिक्षक सरिना विगम्यानले कठिन खेल भएको प्रतिक्रिया दिइन् । ‘यो निकै कठिन खेल थियो । हाइटीले अप्रत्याशित खेल खेल्यो । जसका कारण हामीलाई निकै गाह्रो भयो,’ सरिनाले थपिन्, ‘हामीले धेरै अवसर बनायौँ । तर, त्यसलाई सदुपयोग गर्न सकेनौँ । आगामी खेलमा अझै मिहिनेत गर्नुपर्छ,’ सरिनाले खेलपछि भनिन् । यता, हाइटीकी मिडफिल्डर मेल्ची डुमोर्नायले खेलमा निकै थकित भएको र गर्व गर्न लायक प्रदर्शन भएको बताइन् । ‘खेलमा हामी धेरै थाकेका थियौँ । तर, हामीले साँच्चै गर्व गर्न लायक खेल खेल्यौँ । राम्रो प्रदर्शन गरेका छौँ,’ हारपछि डुमोर्नायले भनिन् ।
डेनमार्कसँग चीन पराजित
डेनमार्कले बलियो मानिएको चीनमाथि १–० को कठिन जित निकाल्दै महिला विश्वकपमा सानदार सुरुवात गरेको छ । अमालिई भांगस्गार्डले खेलको ९० मिनेटमा गोल गर्दै तीन अंक जोडेकी हुन् । बराबरीतर्फ अगाडि बढेको खेलमा भांगस्गार्डले गोल गर्दै जित दिलाएकी हुन् । जितसँगै समूह ‘डी’मा डेनमार्कले तीन अंक जोड्दा चीनले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
अस्ट्रेलियाको पर्थस्थित एचबिएफ रंगशालामा जितपछि डेनमार्ककी भांगस्गार्डले धेरै वर्षको मिहिनेतपछि पहिलो अन्तर्राष्ट्रिय गोल गरेको बताइन् । ‘धेरै वर्षको मिहिनेत र पर्खाइपछि पहिलो अन्तर्राष्ट्रिय गोल गरेकी छु । यो मेरा लागि सर्वाेत्कृष्ट समय हो,’ गोलकर्ता भांगस्गार्डले भनिन् ।