प्रधानमन्त्री भदौ दोस्रो साता चीन जाने

शनिबार, ६ साउन, २०८०
डिजिटल संस्करण

चीन भ्रमणमा दुई देशबीच विगतमा भएका सहमति कार्यान्वयनलगायत बिआरआईअन्तर्गत नेपाल–चीन सहकार्यका विषयमा छलफल हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भदौ दोस्रो साता चीन भ्रमणमा जाने गरी कूटनीतिक तयारी भइरहेको छ । पाँच वर्षपछि प्रधानमन्त्रीको चीन भ्रमण हुँदै छ । प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा जाने सार्वजनिक गरिसकेका छन् । भदौ दोस्रो साता चीन जाने गरी दुई देशका कूटनीतिक च्यानलमा छलफल जारी छ । तर, उपयुक्त समयमा मिति सार्वजनिक हुने सम्बद्ध अधिकारीहरू बताउँछन् । 

‘प्रधानमन्त्रीको चीन भ्रमणको तयारी हुँदै छ । सेप्टेम्बरमा भ्रमण हुने गरी दुईपक्षीय एजेन्डामाथि गृहकार्य भइरहेको छ उपयुक्त समयमा भ्रमणको मिति सार्वजनिक हुन्छ । अहिले दुई पक्ष गृहकार्यमै छन्,’ चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले बेइजिङबाट नयाँ पत्रिकासँग भने । 

गत मंसिरमा भएको निर्वाचनपछि नेपालबाट प्रधानमन्त्रीको स्तरमा पहिलोपटक चीनको भ्रमण हुन लागेको हो । प्रधानमन्त्री भएपछि प्रचण्डको भारतबाट विदेश भ्रमण सुरु भएको थियो । प्रधानमन्त्री प्रचण्डले १७ देखि २० जेठसम्म भारतको औपचारिक भ्रमण गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीले पाँच वर्षअघि (०७५ असार ५ देखि १० सम्म) चीन भ्रमण गरेयता नेपालबाट प्रधानमन्त्रीस्तरमा चीनको भ्रमण भएको थिएन । ०७६ असोज २५ र २६ गते चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गरेका थिए । 

प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रालयलाई भ्रमणको तयारी गर्न निर्देशन दिइसकेको परराष्ट्र स्रोतले बतायो । चीन भ्रमणमा दुई देशबीच विगतमा भएका सहमति कार्यान्वयनलगायत बिआरआईअन्तर्गत नेपाल–चीन सहकार्यका विषयमा छलफल गर्ने तयारी भइरहेको छ । भ्रमणमा बिआरआई कार्यान्वयन योजनालाई अन्तिम रूप दिनेलगायत दुई देशबीच

कनेक्टिभिटी, व्यापार, लगानी, सीमानाका सहज रूपमा सञ्चालनलगायतका विषयमा छलफल हुने गरी एजेन्डामा गृहकार्य भइरहेको छ । नेपाल र चीनबीच बिआरआईको फ्रेमवर्क एग्रिमेन्टमा ०७४ वैशाख २९ गते हस्ताक्षर भएको थियो । हरेक तीन वर्षपछि तीन वर्षका लागि बिआरआई स्वतः नवीकरण हुने प्रावधान छ । 

पछिल्लोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ बिआरआईअन्तर्गत सहुलियत ऋण तथा अनुदान प्राप्त भएको हो कि होइन भन्नेमा विवाद छ । चीनले बिआरआईअन्तर्गत ऋण र अनुदान दिएको भनेको छ भने नेपाली अधिकारीले बिआरआईअन्तर्गत अहिलेसम्म एउटा पनि परियोजना छनोट नभएको बताउँदै आएका छन् ।

चिनियाँ राजदूत चेन सोङले ६ असारमा पोखरा विमानस्थल बिआरआई मोडेलमा सहकार्य भएको बताएका थिए । चीनको सिचुआनबाट पोखरामा सिचुआन एयरलाइन्सको बिमानले चार्डर उडान भरेको दिन उनले उक्त अभिव्यक्ति दिएका थिए । तर, १५ असारमा संसद्को अन्तर्राष्ट्रिय समितिमा बोल्ने क्रममा परराष्ट्रमन्त्री एनपी साउदले बिआरआईअन्तर्गत कुनै पनि परियोजना अघि नबढेको बताएका थिए । 

चिनियाँ पोलिटब्युरो सदस्य आउँदै
चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युयान जियाजुन ७ साउनमा नेपाल भ्रमणमा आउन लागेका छन् । कूटनीतिक स्रोतका अनुसार असोज ५ देखि ७ सम्म आयोजना हुन लागेको बिआरआईसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा नेपाली नेतालाई निमन्त्रणा दिन उनी आउन लागेका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीलगायत शीर्ष नेतासँग भेटवार्ता गर्नेछन् । नेपालस्थित चिनियाँ राजदूतावासले भ्रमण र भेटवार्ताको समन्वय गरिरहेको छ । 

प्रधानमन्त्री आज इटालीको रोम जाँँदै

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार इटाली प्रस्थान गर्दै छन् । नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेसन्स फुड सिस्टम, २०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रम ८–१० साउनसम्म आयोजना हुँदै छ । प्रधानमन्त्री यही ८ साउनमा सो कार्यक्रमको उद्घाटन सत्रमा सहभागी हुने कार्यक्रम छ ।

यस्तै, अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही दिन नै प्रधानमन्त्री प्रचण्ड विद्यालय भोजनबारे आयोजना गरिएको छलफल सत्रमा सहभागी हुनेछन् । यसैगरी ९ साउनमा खाद्य प्रणाली परिवर्तन र अभ्यासका सन्दर्भमा आयोजना हुने छलफलमा समेत सहभागी हुनेछन् । 

भ्रमणका क्रममा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्नेे कार्यक्रम तय भएको छ । खाद्य तथा कृषि संगठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायत संयुक्त राष्ट्रसंघीय अधिकारीसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता तय भएको छ ।

See More On

सुझावित समाचार