सदन प्रवेश गर्‍यो एक क्विन्टल सुन प्रकरण

शुक्रबार, ५ साउन, २०८०
डिजिटल संस्करण

चार्ल्स शोभराजको ‘हात्ती छिराउने’ कथन सम्झिँदै सांसदले भने– लज्जित बनायो, निष्पक्ष छानबिन होस्

सांसदहरूले तस्करीको सय किलो सुन बरामद प्रकरणमा निष्पक्ष छानबिनको माग गरेका छन् । जन्मकैदको सजाय काटेर हालै स्वदेश फर्किएका कुख्यात अपराधी चार्ल्स शोभराजको ‘नेपालको एयरपोर्टबाट हात्ती छिराउने’ कथन सम्झिँदै सांसदहरूले विमानस्थलको सुरक्षा घेरा पार गरिसकेपछि क्विन्टल सुन बरामद हुनु लज्जाको विषय भएको बताएका छन् । यसले नेपाल अपराधको क्रीडास्थल बनेका सन्देश विश्वव्यापी रूपमा जाने भन्दै उनीहरूले चिन्तासमेत व्यक्त गरेका छन् । 

राष्ट्रिय सभाको बिहीबारको बैठकमा शून्य समय र  विशेष समयमा बोल्दै सांसदहरूले सुन तस्करीमा नेताहरूको नामसमेत जोडेर आउनु दुःखद भएको बताए । एमाले सांसद गोपाल भट्टराईले हालै आएका सूचनाले तस्करहरूले राज्य सञ्चालनमा हस्तक्षेप त गरेका छैनन् भन्ने आभास हुन थालेको भन्दै चिन्ता व्यक्त गरे । ‘बाहिर हेर्दा भ्रष्टाचार अनियमितता अन्त्य हुन थालेजस्तो देखिएको छ । पावरमा भएकाहरू जोडिँदासमेत छानबिन भएको छैन । जनताको एकातिर केन्द्रित गर्ने तस्करी मौलाउने अवस्था देखिएको छ,’ उनले भने, ‘भर्खरै समातिएको करिब एक क्विन्टल सुनको बारेमा पूर्वसभामुख र गृहमन्त्रीको समेत नाम जोडेर समाचार आएका छन् । सुन भित्र्याउँदा मोटरसाइकल र स्कुटरको ब्रेक सु भनेर भन्सार भएको छ । यही प्रक्रियाबाट पछिल्लो समय चार–पाँचपटकसम्म भित्रिएको भन्ने सुनिएको छ । अब निष्पक्ष छानबिन हुन्छ भनेर विश्वास गर्ने ठाउँ छैन । हेर्न बाँकी छ ।’ 

एमालेकै अर्की सांसद विमला घिमिरेले लगातार सुन तस्करीका खबर आउनु गम्भीर विषय भएको बताइन् । ‘केही दिनअघि इलेक्ट्रिक सिगरेटमा लुकाई ल्याएको सुनलाई मिलेमतोमै छुटाउन प्रयास भइरहेको खबर आइरहेका वेला अहिले त झनै एयरपोर्टको सुरक्षा घेरालाई पार गरेर बाहिर आएको सुन राजस्व विभागले समातेको घटना थपियो । एयरपोर्टजस्तो संवेदनशील क्षेत्रको सुरक्षा प्रणाली र भन्सार प्रशासनसमेत यसमा जोडिएको देखिनु गम्भीर विषय हो । त्यसमाथि सरकार सञ्चालकसमेत यसमा जोडिनु झन् लज्जास्पद छ,’ उनले भनिन् । 

कांग्रेस सांसद रमेशजंग रायमाझीले कुख्यात अपराधी चार्ल्स शोभराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कसरी छिर्‍यौ भन्दा म मात्रै होइन, तिम्रो विमानस्थलबाट सिंगो हात्ती छिराइदिन्छु भनेर व्यंग्य गरेको स्मरण भइरहेको बताए । ‘हिजो ३३ किलो सुन निक्लेको चर्चा सेलाउन नपाउँदै आज सयौँ किलो सुन, त्यो पनि एकपटक होइन, २२ पटक प्रक्रिया भयो भनेर आइरहेको छ । यो सय किलो सुन निक्लिँदा त्यहाँ कर्मचारी हामीले एउटा मोबाइल, लगाइराखेको घडी कुनै वेला खोलेर कोटको गोजीमा हालेर त्यो मेसिनबाट छिर्न लागेका वेला डिडेक्टर कराउँछ । आज सय किलो सुन निक्लिँदा डिडेक्टर किन कराएन ? त्यहाँको भन्सारको कर्मचारी के गरिरहेका थिए ? त्यहाँको प्रहरी के गरिरहेको थियो ?’ उनले प्रश्न गरे ।

सांसद रायमाझीले सुन तस्करी नियन्त्रणमा प्रहरीको भूमिकाप्रति पनि आलोचना व्यक्त गरे । ‘एकातिर ललितानिवास काण्डमा टिप्पणी उठाएको अधिकृतलाई छानबिन गर्न सक्ने प्रहरी आज सय किलो सुन निक्लिँदा कहाँ गइरहेको थियो ? भन्सारमा कर्मचारीको मिलेमतो पनि हुन्छ, पुलिसको मिलेमतोविना कुनै हालतमा सम्भव छैन,’ उनले भने, ‘हामी विराटनगरमा जाँदा पनि डिडेक्टरले हाम्रो शरीरमा केही करायो भने के छ माननीयज्यू भनेर सोध्छ । आज सय किलो सुन निक्लिँदा लापत्ता छौ, बेपत्ता छौ ? कतै मुलुकलाई आपराधिक गतिविधिको क्रीडास्थल बनाउन खोजिँदै त छैन, सरकार सचेत हुन जरुरी छ ।’

जसपा सांसद मोहम्मद खालिदले एयरपोर्टको सुन तस्करी चिन्ताको विषय र डरलाग्दो अवस्था भएको बताइन् । ‘एक अर्बको सुन एकदम संवेदनशील ठाउँबाट बाहिर आउन सक्छ भने यस्ता कुराहरू क्षणभरमा जान पनि सक्छ । देश र शान्ति सुरक्षाका लागि चुनौतीपूर्ण हुन्छ,’ उनले भनिन्, ‘जुन सरकार आए पनि दशकौँदेखि करारमा आफ्ना मान्छेहरू राख्ने चलन छ । विमानस्थलमा क्षमताभन्दा बढी कर्मचारीले काम गरिरहेका छन् । तैपनि यस्ता घटना घटित हुनु चिन्ताको विषय हो ।’

माओवादी सांसद गंगाकुमारी बेल्वासेले सरकारले एकपछि अर्काे काण्डका अपराधीलाई गिरफ्तार गर्दै आएकोमा धन्यवाद दिइन् । ‘सुन काण्डमा भरिया पक्राउ पर्ने गरेकोमा अहिले सुरक्षाकर्मी मुख्य व्यक्तिहरूको नजिक पुगेको छ । देशलाई तस्करहरूको खेल मैदान हुन नदिन सरकार अगाडि बढोस्,’ उनले भनिन् ।

एमाले सांसद दिलकुमारी रावलले त्रिभुवन विमानस्थलबाट बाहिरिएको क्विन्टल सुन ठूलो मान्छेको साथ सहयोगविना असम्भव रहेको बताइन् । उनले घटनाको सत्य–तथ्य निष्पक्ष छानबिन गरेर कारबाहीको दायरामा ल्याउन माग गरिन् ।

माओवादीकै अर्का सांसद मायाप्रसाद शर्माले दिनदहाडै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भइरहेको क्विन्टल सुन बरामद हुनु गम्भीर विषय भएको बताए । ‘सरकारको सुशासन अभियानले यस्ता तस्करीलाई नियन्त्रण गर्नुपर्छ,’ उनले भने । 

सुझावित समाचार