क्विन्टल सुन बरामद प्रकरणलाई कसरी हेर्नुभएको छ ?
यो एकदमै लज्जाको विषय हो । राजस्व चुहावट भ्रष्टाचार नै हो । यसको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र चुहावट नियन्त्रणमा जोड दिनुपर्छ ।
यहाँले राजस्व चुहावटको छानबिनसम्बन्धी संसदीय समितिको सदस्य भएर पनि काम गर्नुभएको छ । चुहावट किन भइरहेको छ ?
हामीले संसदीय छानबिन समिति बनाएर ०५६ मा मिहिनेत गरेर ठूलो प्रतिवेदन सरकारलाई दिएका थियौँ, तर कार्यान्वयनमा आएन । बारम्बार सरकार परिवर्तन, देशभर फैलँदै गएको भ्रष्टाचारको जालो, सरकारमै रहेका मान्छे भ्रष्टाचारमा मुछिएको र भ्रष्टाचार गर्नेले आफूलाई जोगाउन लाग्दा त्यो प्रतिवेदन कार्यान्वयनमा गएन । यसमा तत्कालीन सरकारले ध्यान दिनुपर्ने हो । त्यत्तिकै हराएर गयो । प्रतिवेदनअनुसार सरकारले छानबिन गरेको भए अहिलेको गम्भीर स्थिति हुने थिएन ।
चुहावट नियन्त्रण गर्न के गर्नुपर्ला ?
सुरुदेखि नै नियन्त्रण गर्दै गएको भए यो अवस्था आउने थिएन । सुरुमा ढाकछोप गर्दै गएपछि अहिले ठूलो समस्याका रूपमा देखिएको छ । अहिले छानबिन भइरहेको छ, ठूला मान्छे पक्राउ परिरहेका छन्, अनुसन्धान जारी राख्नुपर्छ । चुहावट रोक्न निगरानी बढाउनुपर्छ । भ्रष्टाचार नियन्त्रण गर्न सकिएन र झांगियो भने राष्ट्र कमजोर हुन्छ । यसलाई अन्त्य गर्न सबै एकजुट भएर लाग्नुपर्छ ।