१० अर्ब अपुतालीको लोभमा गुम्यो ९३ लाख

बिहिबार, ४ साउन, २०८०
डिजिटल संस्करण

विदेशमा रहेको संगठित गिरोहले अनलाइनबाटै गर्‍यो ठगी, नेपालका दुई एजेन्ट पक्राउ

अपुतालीको १० अर्ब २१ करोड रुपैयाँ हत्याउने चक्करमा लाग्दा काठमाडौंकी राणा थरकी एक युवतीले ९३ लाख रुपैयाँ गुमाएकी छिन् । घटनामा संलग्नमध्ये दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । तर, योजनाकार फरार छन् ।

पक्राउ पर्ने डडेल्धुराका योगेश शाही र काठमाडौंका सन्देश लामिछाने हुन् । विदेशबाट संगठित रूपमा साइबरमार्फत गरिएको ठगी घटनाका मुख्य योजनाकारलाई पक्राउ गर्न सकेको छैन । नेपाल प्रहरीको साइबर ब्युरोले घटनाको अनुसन्धान गरिरहेको छ । 

‘काठमाडौंकी एक धनाढ्य परिवारकी युवतीलाई क्यानडाको एक बैंकमा रहेको अपुतालीको ७८ मिलियन अमेरिकी डलर दिने भनेर कसैले प्रलोभन देखायो । त्यसबापत कागजात मिलाउनुपर्ने भन्दै युवतीबाट उनीहरूले ९३ लाख रुपैयाँ असुल गरे । त्यसपछि उनीहरू सम्पर्कविहीन भए । घटनामा सामाजिक सञ्जाल प्रयोग भएको छ । धेरै व्यक्ति मिलेर घटना भएको देखिन्छ । प्रहरी विस्तृत अनुसन्धानमा लागेको छ,’ साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले भने । 

ब्युरोका अनुसार राणालाई सामाजिक सञ्जाल ट्विटरमार्फत एक अपरिचितले ‘फलो’ गर्‍यो । उनले अपरिचितको प्रोफाइल हेरिन् । उनको पेसा उल्लेख थियो, ‘सिआइओ, रोयल बैंक अफ क्यानडा’ । राणाले पनि उनलाई फलो गरिन् । त्यसलगत्तै दुईबीच वार्तालाप (इनबक्स च्याट) सुरु भयो । केही साता दुईबीच सामान्य कुराकानी भए । यसैक्रममा अपरिचितले क्यानडानिवासी ‘माइक क्लर्क राणा’ नामक व्यक्तिको कोभिड– १९ का कारण मृत्यु भएको र रोयल बैंकस्थित उनकोे खातामा ७८ मिलियन अमेरिकी डलर (१० अर्ब २१ करोड ८० लाख रुपैयाँ) रहेको जानकारी दिए । उक्त सम्पत्ति हकदाबी गर्ने क्यानडामा कोही नभएको पनि उनले भने । कागजात मिलाउन सके उक्त सबै रकम राणाको नाममा ‘ट्रान्सफर’ गर्न सकिने उपाय सुनाए । 

सवाल १० अर्ब २१ करोड ८० लाख रुपैयाँको थियो । राणाको दिमागमा रकम कुनै हालतमा प्राप्त गर्ने लोभ जाग्यो । उनले अपरिचितको अफरबारे परिवारका सदस्यलाई पनि भनिन् । परिवारका सदस्यले अपरिचितको अफरलाई शंकाको नजरले हेरे । युवतीले अपरिचितसँग पुनः इनबक्स च्याट गरिन् । सोधिन्, ‘यति ठूलो रकम तिमीले किन मलाई नै ट्रान्सफर गर्न खोजिरहेका छौ ?’

अपरिचितले जवाफ फर्कायो, ‘मृतकको ‘सर नेम’ राणा हो । तिमी पनि राणा नै रहेछौ । हकदाबी गर्न कोही नभएका मृतकको सम्पत्ति बैंकमा राख्न मिल्दैन । त्यस्तो सम्पत्ति नजिकको नातेदारलाई दिनुपर्ने हुन्छ । मृतक र तिम्रो ‘सर नेम’ एउटै भएको हुँदा यो अफर तिमीलाई गरेको हुँ ।’

राणाले अपरिचितको भनाइमा विश्वास गरिन् । उक्त रकम जसरी पनि हात पर्ने मनस्थितिमा उनी पुगिन् । अब उनले रकम ट्रान्सफरका लागि आवश्यक प्रक्रिया बुझ्न अपरिचितसँग संवाद अघि बढाइन् । अपरिचितले होसियारीपूर्वक पहिलो चरणमा राणाको नागरिकतासहितको व्यक्तिगत कागजात सबै लिए । उक्त कागजात बैंकमा पेस गरेको फोटो खिचेर ह्याट्सएपमार्फत राणालाई पठाए । केही दिनपछि अपरिचितले कागजातमा केही गडबड भएको र त्यसका लागि अधिवक्ता प्रयोग गर्नुपर्ने भन्दै रकम मागे । १० अर्ब २१ करोड प्राप्त गर्ने लोभमा फसेकी राणाले मागेजति रकम अपरिचितले पठाएको बैंक खातामा हालिदिइन् । अपरिचितले विभिन्न बहानामा पुनः थप रकम मागे, राणाले भुक्तानी गर्दै गइन् । करिब वर्ष दिनको बीचमा उनले नेपालकै फरक–फरक ११ वटा बैंकमा खातामा ९३ लाख पाँच हजार ६२ रुपैयाँ दाखिला गरिदिइन् । 

तर, अफरमा भनिएजस्तो १० अर्ब २१ करोड ८० लाख रुपैयाँ हात लागेन । बरु नयाँ–नयाँ बहानामा थप रकम माग्ने क्रम अझ बढ्यो । अनि मात्र राणाको मनमा अपरिचितप्रति शंका जाग्यो । उजुरी दिन प्रहरी कार्यालय पुगिन्, तर त्यसवेलासम्म ढिलो भइसकेको थियो । किनकि उनले आफूसँग भएको सबै सम्पत्ति गुमाइसकेकी थिइन् । 

प्रहरीले घटनाको अनुसन्धान गर्‍यो । नभन्दै अपरिचित र अपरिचितको ट्विटर अकाउन्ट नक्कली रहेको खुल्यो । सँगै मृतक भनिएका ‘माइक क्लर्क राणा’ पनि नक्कली रहेको खुल्यो । ठगिएको पुष्टि भएपछि युवती छाँगाबाट खसेझैँ भइन् । ब्युरोका प्रवक्ता रायले अपरिचित व्यक्तिले दिएको विभिन्न नेपालकै ११ बैंक खातमा ३० जेठ ०७९ देखि गत १९ फुगनसम्म ९३ लाख रुपैयाँभन्दा धेरै रकम जम्मा भएको देखिएको बताए ।

पीडित राणाले गत २५ फागुनमा ब्युरोमा जाहेरी दिएकी थिइन् । विभिन्न मुलुकमा रहेका आपराधिक समूह घटनमा संलग्न रहेकाले ब्युरोले यस अवधिमा उनीहरूका दुई नेपाल एजेन्टलाई मात्रै पक्राउ गर्न सकेको छ । घटनाका ‘मास्टर माइन्ड’ फरार रहेका प्रवक्ता एसपी रायले बताए । उनले भने, ‘यसमा अन्तर्राष्ट्रिय गिरोह संलग्न छ । उनीहरूकै योजनामा घटना भएको देखिन्छ । उनीहरूका नेपाल एजेन्ट भने पक्राउ परेका छन् । विदेशमा रहेको हुँदा ‘मास्टर माइन्ड’ पक्राउ गर्न सकिएको छैन । प्रयत्न जारी छ ।’

युवतीले वर्ष दिनमा नेपालकै विभिन्न ११ बैंकको खातामा रकम पठाएको देखिन्छ : एसपी पशुपति राय, प्रवक्ता, साइबर ब्युरो
काठमाडौंकी एक धनाढ्य राणा परिवारकी युवतीलाई क्यानडाको एक बैंकमा रहेको अपुतालीको ७८ मिलियन अमेरिकी डलर दिने भनेर कसैले प्रलोभन देखायो । त्यसबापत कागजात मिलाउनुपर्ने भन्दै युवतीबाट उनीहरूले ९३ लाख रुपैयाँ असुल गरे ।

युवतीले एक वर्षको बीचमा नेपालकै विभिन्न ११ बैंकका खातामा यो रकम जम्मा गरेको देखिन्छ । त्यसपछि उनीहरू सम्पर्कविहीन भए । घटनामा सामाजिक सञ्जाल प्रयोग भएको छ । यसमा अन्तर्राष्ट्रिय गिरोह संलग्न छ । उनीहरूका नेपाल एजेन्ट पक्राउ परेका छन् । विदेशमा रहेकाले मुख्य योजनाकारलाई पक्राउ गर्न सकिएको छैन ।

See More On

सुझावित समाचार