हुनैपर्छ मौसमको राजनीतीकरण

बुधबार, ३ साउन, २०८०
डिजिटल संस्करण

रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवारका आकांक्षी रोन डिसेन्टिसले औपचारिक रूपमा राष्ट्रपतीय चुनावी अभियान सुरु गर्दा उनलाई जलवायु परिवर्तनबारे सोधिएको थियो । उपेक्षाभावमा उनले ‘म सधैँ मौसमको राजनीतीकरणको विरोधी हुँ’ भन्दै जवाफ दिएका थिए । तर, हामीले मौसमको राजनीतीकरण गर्नैपर्छ । सन् २०२४ को चुनावी मुद्दामा वातावरणीय नीति केन्द्रीय मुद्दा बन्नेछैन । चुनाव मूलतः अर्थतन्त्र र सामाजिक मुद्दामा केन्द्रित हुनेछ । तथापि, हामी जलवायुसँग सम्बन्धित प्रकोपको तीव्र वृद्धिको समयमा बाँचिरहेका छौँ । रिपब्लिकन पार्टी विकसित मुलुकका राजनीतिक शक्तिमध्ये जलवायु पहलकदमीविरुद्ध मुखर हुने सबैभन्दा ठूलो अतिवादी शक्ति हो । यस्तो अवस्थामा एक तर्कसंगत राजनीतिक बहसमा जलवायु परिवर्तन सबैभन्दा ठूलो चुनावी मुद्दा हुनुपर्ने हो ।

पहिलो वातावरणीय पृष्ठभूमिलाई नै लिऊँ । हामी अहिले सन् २०२३ को मध्यमा आइपुगेका छौँ र कुनैवेला हामीलाई स्तब्ध र अचम्मित बनाउने खालका प्रकोप अहिले हामी नियमित भोगिरहेका छौँ । विश्वस्तरमै यही जुन महिना अभिलिखित इतिहासमै सबैभन्दा तातो जुन महिना बनेको छ । अभूतपूर्व गर्मीको लहर विश्वका कैयौँ ठाउँमा देखापरेका छन् । मे महिनामा दक्षिण एसिया र मध्यपूर्वले प्राणघाती गर्मीको लहर व्यहोरेको थियो र युरोपमा अहिले सानो अवधिमै दोस्रो विनाशकारी गर्मीको लहर चलिरहेको छ । चीनले हालसम्मकै सबैभन्दा कीर्तिमानी तापमान व्यहोरिरहेको छ । त्यसैगरी अमेरिकाको दक्षिणी हिस्साले केही सातायता जोखिमयुक्त गर्मी व्यहोरिरहेको छ । फ्लोरिडा क्षेत्रका जनतालाई गर्मीबाट राहत पाउन समुद्रमा डुबुल्की लाउँछु भन्ने पनि छुट छैन किनभने समुद्रकै तापमान सय डिग्री फरेनहाइटको हाराहारी छ ।

अमेरिकाको रिपब्लिकन पार्टी विकसित मुलुकका राजनीतिक शक्तिमध्ये जलवायु पहलकदमीविरुद्ध मुखर हुने सबैभन्दा ठूलो अतिवादी शक्ति हो 

दक्षिणबाहेकको अमेरिकीले गर्मी महसुस नगरे पनि उत्तरपूर्वी क्षेत्रका जनताले क्यानडामा भइरहेको डढेलोले ल्याएको वायु प्रदूषण र सुन्तला रंगको आकाश बिर्सेका छैनन् । हामीसँग प्रतिकूल मौसमी घटनाका बग्रेल्ती उदाहरण छन् । तर, के हामी यी प्रकोप जलवायु परिवर्तनले नै ल्याएको हो भनेर प्रमाणित गर्न सक्छौँ ? त्यसै भन्न सकिँदैन । तर, अहिले बढ्दो रूपमा विकास भइरहेको विषय ‘चरम वातावरणीय घटना श्रेय’ (एक्स्ट्रिम इभेन्ट एट्रिब्युसन)ले जलवायु परिवर्तनलाई उच्च सम्भाव्यता भएको कारकका रूपमा मान्छ ।

विभिन्न जलवायु मोडेलले केही चरम मौसमी घटनालाई पृथ्वीको बढ्दो तापमानका कारण हुन सक्ने देखाएका छन् । उदाहरणका लागि दशकमा एकपटक हुने गर्मीको लहर अहिले हामी प्रायः वार्षिक रूपमै व्यहोरिरहेका छौँ । चरम वातावरणीय घटना श्रेयले विश्व तापमान वृद्धि हुँदा र नहुँदाको अवस्थामा हुने प्रतिकूल वातावरणीय घटनाको तुलना गर्छ ।

म चरम वातावरणीय घटना श्रेयलाई विश्वसनीय स्रोत मान्छु । किनभने, यसले सबै प्रतिकूल वातावरणीय घटनालाई जलवायु परिवर्तनसँग पनि जोडिहाल्दैन । उदाहरणका लागि उत्तरपूर्वी इटलीमा आएको चरम बाढीमा जलवायु परिवर्तनको हात निकै सीमित छ । यस्ता केही अपवाद हामीले देख्न सक्छौँ । सामान्यतया चरम वातावरणीय घटना श्रेयको विश्लेषण विश्व तापमान वृद्धिका कारण हालैका वर्षमा प्रकोप देखाएको छ । हामीसँग तुरन्तै लागि जलवायु प्रकोपको अनुमान मौजुद नभए पनि जलवायु परिवर्तनविना केही वर्षयताका वैश्विक वातावरणीय प्रकोप असम्भव हुन्थ्यो भन्न सकिन्छ । यो स्वभावतः संकटको सानो झल्को मात्रै हो । भविष्यमा ठूला क्षति निम्तने देखिन्छ ।     

यसले मलाई ‘मौसमको राजनीतीकरण’को बहसतर्फ डोर्याउँछ । वास्तवमा जलवायु परिवर्तनबारे चिन्ता गर्नु अब दलीय मुद्दा होइन । तर, यो मुलुकमा भने जलवायु परिवर्तनको मुद्दा दलीय मुद्दा हो । गत वर्षकै आँकडालाई लिने हो भने २२ प्रतिशत दक्षिणपन्थी विचारका अनुयायी अमेरिकीले मात्रै जलवायु परिवर्तनलाई मुख्य खतराका रूपमा देख्छन्, त्यसैगरी वामपन्थी एवं दक्षिणपन्थीबीचको भिन्नता अन्य मुलुकको दाँजोमा अमेरिकामा धेरै छ । टेक्सासका रिपब्लिकन (दक्षिणपन्थी पार्टी रिपब्लिकनका सदस्य) आफ्नै राज्यमा विस्तार भइरहेको नवीकरणीय ऊर्जाको अवमूल्यन गर्छन्, यस्तो तपाईं अमेरिकामा मात्रै देख्न पाउनुहुन्छ । 

जलवायु परिवर्तनलाई अस्वीकार गर्ने तर्कमा खासै परिवर्तन आएको छैन । जलवायु परिवर्तन भएकै छैन, भए पनि थोरै भएको छ र यो खराब होइन । यसलाई रोक्न गरिने कामले आर्थिक प्रकोप निम्त्याउनेछ । यस्ता तर्क अझै पनि सुन्न सकिन्छ । जतिसुकै प्रमाण पुर्याउनुस्, यस्ता तर्क आउनबाट रोकिँदैनन् । जब अमेरिकामा हिउँद हुन्छ, तब फेरि जलवायु परिवर्तन ‘कृत्रिम’ हो भन्दै हौवा फैलाइन्छ । नवीकरणीय ऊर्जामा भएको प्राविधिक विकासले उत्सर्जन घटाउन सजिलो बनाएको भए पनि केही मानिसले अझै पनि बाइडेन प्रशासनको जलवायु नीतिको लागत उच्च भएको दाबी गर्छन् । त्यसकारण विश्वमा भइरहेको कीर्तिमानी गर्मीका बाबजुद पनि जलवायु परिवर्तनलाई स्विकारिनेछैन वा यो ठूलो चिन्ताको विषय होइन भन्ने सुनिनेछ ।

विश्वमा जेसुकै भए पनि रिपब्लिकनले जलवायु मामिलामा आफ्नो अडान परिवर्तन गर्छन् भनेर अपेक्षा गर्नु मूर्खतापूर्ण हुनेछ । यसको अर्थ हो, यदि रिपब्लिकन पार्टीले अर्को वर्ष ह्वाइट हाउस र कांग्रेसमा आफ्नो दबदबा कायम राख्न सफल भयो भने उसले पक्कै पनि बाइडेन प्रशासनले लागू गरेको र विज्ञले समेत उत्सर्जनमा कमी ल्याउने भनेको हरित ऊर्जा अनुदानलाई हटाउने प्रयास गर्नेछ । मान्नुस्–नमान्नुस्, मौसम राजनीतिक विषय हो । अमेरिकी जनता अर्को वर्षको नोभेम्बरमा पक्कै पनि जलवायु मुद्दाको महत्वबारे जानकार भएर मतदान गर्नेछन् ।

(सन् २००८मा अर्थशास्त्रमा नोबेल पुरस्कार पाएका क्रुगमेन न्युयोर्क टाइम्सका स्तम्भकार एवं सिटी युनिभर्सिटी अफ न्युयोर्क ग्रेजुएट सेन्टरका विशिष्ट प्राध्यापक हुन्) न्युयोर्क टाइम्सबाट
 

सुझावित समाचार