महिलाको घाँटीबाट सुनको सिक्री लुटेको आरोपमा युवक पक्राउ

मंगलबार, २ साउन, २०८०
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय लमजुङले महिलाको घाँटीबाट सुनको सिक्री लुटेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले तनहुँको भानु नगरपालिका– ७ घर भएका ३० वर्षीय श्यामचन्द्र खतिवडालाई पक्राउ गरेको हो ।  उनलाई राइनास नगरपालिका–६ को जंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी प्रकाश श्रीमलले आइतबार अपराह्न साढे ४ बजेतिर खतिवडा जंगलनेरको बाटोमा ढुकेर बसेका खतिवडाले पोखराबाट साउने संक्रान्ति मनाउन माइत आएकी राइनास नगरपालिका– ६ की लक्ष्मी नेपालीको पिछा गर्दै घाँटीमा लगाएको एक तोला २१ लालबराबरको सुनको सिक्री लुटेर भागेको जानकारी दिए ।

घटनालगत्तै महिला र स्थानीयले स्थानीय प्रहरी चौकीमा खबर गरेपछि केहीबेरको खोजतलासमै घटनास्थलबाट नजिकैको जंगलमा खतिवडालाई फेला पारी पक्राउ गरिएको डिएसपी श्रीमलले बताए । उनका अनुसार खतिवडालाई मंगलबार लमजुङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।  

सुझावित समाचार