देशको अर्थतन्त्रमा छाएको मन्दीको असर स्वदेशी तथा विदेशी लगानीमा पनि देखिएको छ । आर्थिक वर्ष ०७९/८० मा उद्योग विभागमा तीन सय २३ उद्योग दर्ता भएर दुई खर्ब १४ अर्ब ६६ करोडको लगानी गर्ने प्रतिबद्धता गरेका छन् । यो अघिल्लो वर्षको भन्दा ३७ प्रतिशतले कम हो । लगानी घटे पनि नयाँ उद्योग दर्ता भने बढेका छन् ।
आव ०७८/७९ मा तीन सय आठ उद्योगमार्फत तीन खर्ब ३९ अर्ब ५९ करोड लगानी गर्ने प्रतिबद्धता आएको थियो । यी उद्योगहरूमा स्वदेशी तथा विदेशी दुवै लगानी समावेश छ । आव ०७८/७९ मा साना उद्योग एक सय १० वटा दर्ता भएकोमा ०७९/८० मा एक सय ८७ वटा दर्ता भएका छन् ।
त्यस्तै, ६६ वटा ठूला र ७० वटा मझौला उद्योग दर्ता भएको विभागको तथ्यांक छ । सो वर्ष १५ वटा उद्योग बढी दर्ता भए पनि लगानी प्रतिबद्धता भने एक खर्ब २५ अर्ब घटेको छ । विभागका अनुसार अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा ऊर्जामूलक परियोजनामा लगानी प्रतिबद्धता करिब ५८ अर्बले घटेको छ । उत्पादनमूलक उद्योगहरूमा अघिल्लो वर्षभन्दा करिब ४४ अर्ब कम लगानी प्रतिबद्धता आएको छ । यस्तै, कृषि तथा वन पैदावार, पूर्वाधार र सेवामूलक क्षेत्रमा पनि लगानी प्रतिबद्धता घटेको देखिन्छ ।
आव ०७८/७९ मा उद्योगहरूले २८ हजार २३ जनालाई रोजगारी दिने प्रतिबद्धता गरेकोमा ०७९/८० मा २३ हजार तीन सय ६७ जनालाई प्रतिबद्धता जनाएका छन् ।
कुन क्षेत्रमा कति लगानी ?
आव ०७९/८० मा ऊर्जामूलक परियोजनामा लगानी प्रतिबद्धता सबैभन्दा धेरै आएको विभागले जनाएको छ । ऊर्जामूलक ४५ परियोजनामा एक खर्ब १२ अर्ब ६८ करोड लगानी गर्ने प्रतिबद्धता छ । यस्तै, उत्पादनमूलक क्षेत्रमा एक सय १४ उद्योग दर्ता भएका छन्, जसमा ४१ अर्ब ९१ करोड लगानी गर्ने प्रतिबद्धता छ ।
सेवामूलक ६६ उद्योगमा ३० अर्ब ८२ करोड, पर्यटन क्षेत्रमा ६७ उद्योगमार्फत २५ अर्ब २७ करोड, कृषि तथा वन पैदावारमा अधारित १० उद्योगमा करिब दुई अर्ब, सूचना तथा प्रविधिमा आधारित १६ उद्योगमा एक अर्ब सात करोड रुपैयाँ लगानी हुँदै छ । यस वर्ष पूर्वाधार र खनिजजन्य उद्योग परियोजनामा लगानी प्रतिबद्धता अत्यन्तै कम रहेको छ ।
१० क्यासिनो दर्ता
विभिन्न सहरका होटेलमा सञ्चालन गर्ने गरी १० क्यासिनो दर्ता भएका छन्, । दर्ता हुनेमा अधिकांश आधुनिक मेसिन तथा उपकरणका माध्यमबाट खेलाइने ‘मिनी क्यासिनो’ रहेका छन् । यी क्यासिनोमा दुई अर्ब पाँच करोड लगानी गर्ने प्रतिबद्धता छ ।
बानेश्वरको पाँचतारे एभरेष्ट होटेल, सोल्टीमोडको पाँचतारे हायात प्लेस र झापाको पाँचतारे किङ्सबरी होटेलमा पूर्ण क्षमताको ठूलो क्यासिनो सञ्चालनमा आउने भएका छन् । झापा, विराटनगर, सिन्धुपाल्चोक, काठमाडौं, भैरहवादेखि कपिलवस्तुसम्मका तारे होटेलमा क्यासिनो सञ्चालन गर्ने गरी कम्पनी दर्ता भएको विभागले जनाएको छ ।
यी हुन् ठूला उद्योगहरू
आव ०७९/८० मा चार अर्ब २८ करोड लगानीका दुईवटा चिनी उद्योग दर्ता भएका छन् । पर्साको बहुदरमाई गाउँपालिका–४ मा शिवशक्ति र सर्साको जिराभवानी गाउँपालिका–८ मा श्री सुगर मिल खुल्ने भएका हुन् । शिवशक्तिमा दुई अर्ब आठ करोड र श्री सुगर मिलमा दुई अर्ब २० करोड लगानी गर्ने प्रतिबद्धता छ ।
सोही आवमै करिब आधा दर्जन हाराहारी सवारीसाधनका एसेम्बल प्लान्ट खोल्न उद्योग विभागमा दर्ता भएका छन् । आइएमई समूहको नेतृत्वमा सञ्चालनमा आउने करिब आठ अर्ब लगानी हुने अनुमान गरिएको सिकलेस अन्नपूर्ण केबलकार पनि यसै वर्ष दर्ता भएको छ ।
यस्तै, १० अर्बभन्दा बढी लगानी गर्ने गरी चारवटा ठूला सेरामिक्स टायल उद्योग दर्ता भएको विभागले जनाएको छ । जसमध्ये सोमानी सेरामिक्स र कजरिया सेरामिक्स उद्योग यसै वर्ष सञ्चालनमा आउने बताइएको छ । यी दुई उद्योगमा मात्रै दुई–दुई अर्ब गरी कुल चार अर्ब लगानी हुँदै छ ।