सशस्त्र प्रहरीमा बढुवाको जाम खुल्यो

करिब ६ हजार प्रहरीको एकैपटक बढुवा हुने

सोमबार, १ साउन, २०८०
डिजिटल संस्करण

सशस्त्र प्रहरी बलमा हवल्दारदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मको बढुवाको जाम खुलेको छ । जसअनुसार सशस्त्रमा एकैपटक करिब ६ हजार प्रहरीको बढुवा हुनेछ । सशस्त्र प्रहरी बलले आइतबार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हवल्दारसम्म बढुवाका लागि सूचना प्रकाशित गरेको छ । केही पदमा समायोजनको प्रक्रियाका कारण लामो समयदेखि बढुवा अवरुद्ध थियो । सरकारले केही पद समायोजनको स्वीकृत दिएसँगै बढुवाअघि बढेको स्रोत बताउँछ । 

सशस्त्र प्रहरीको साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, वरिष्ठ नायब निरीक्षक, नायब निरीक्षक, सहायक निरीक्षक, वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवाका लागि आइतबार एकैपटक सूचना प्रकाशित गरिएको हो । सूचना प्रकाशन भएसँगै आगामी साउनभित्र सबै पदमा बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ । एकैपटक ठूलो संख्यामा बढुवा हुने भएकाले यसबाट सशस्त्र प्रहरीका कर्मचारीको मनोबल बढ्ने गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । 

त्यस्तै, सशस्त्र प्रहरी सेवा प्राविधिक समूह सञ्चार तथा इन्जिनियरिङतर्फ प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सहायक हवल्दार पदमा समेत बढुवाका लागि सूचना प्रकाशित गरिएको छ । आइतबार नै लेखा उपसमूहतर्फ पाँचजना र कानुन उपसमूहतर्फ एकजनाको सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा बढुवा सिफारिससमेत भएको छ । आइतबार नै एक सय ९८ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

बढुवाको जाम खुलेसँगै ०६४ मा भर्ना भएको सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षकको टोली सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा बढुवा हुनेछन् । भर्ना भएको १६ वर्षपछि उनीहरू डिएसपी हुनेछन् । सो टोलीका केही अघिल्लो बढुवामा छुटेका थिए । 
त्यस्तै, ०६० मा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको ठूलो टोली नायब उपरीक्षकमा रहेकोमा अब उनीहरू पनि एसपीमा बढुवा हुनेछन् । उनीहरू २० वर्षमा एसपी हुनेछन् । ०५९ मा भर्ना भएका इन्स्पेक्टरको टोली २१ वर्षपछि एसएसपी हुनेछन् । त्यस्तै, ०६१ मा असइ पदमा भर्ना भएकाहरू अहिले इन्स्पेक्टरमा बढुवा हुनेछन् । 

त्यस्तै, जवानबाट हवल्दार हुन १५ वर्ष लाग्नेमा अब यस्तो समस्या हल हुने सशस्त्र प्रहरीका एक अधिकारी बताउँछन् । सहायक हवल्दारका केही पद थप गरिएको छ । सशस्त्र प्रहरीमा बढुवाको जामका कारण समस्या रहँदै आएको छ । हाल केही पद समायोजन गरेर ठूलो संख्यामा बढुवा गर्न लागिएकाले अब त्यस्तो समस्या हट्ने सशस्त्र प्रहरी अधिकारी बताउँछन् । 

को–को हुँदै छन् बढुवा ?
०६० मा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको ठूलो टोली नायब उपरीक्षकमा रहेकोमा अब उनीहरू एसपीमा बढुवा हुनेछन् । ०६४ मा भर्ना भएको सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षकको टोली सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा बढुवा हुनेछन् । ०५९ मा भर्ना भएका इन्स्पेक्टरको टोली २१ वर्षपछि एसएसपी हुनेछन् । ०६१ मा असइ पदमा भर्ना भएका अहिले इन्स्पेक्टरमा बढुवा हुनेछन् । आइतबार नै एक सय ९८ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

सुझावित समाचार