कृषि पेसामा रमाउँदै चिरञ्जीवी

आइतबार, ३१ असार, २०८०
डिजिटल संस्करण

गुल्मीको छत्रकोट गाउँपालिका– ४ का ३७ वर्षीय चिरञ्जीवी पन्थ गाउँमा विद्युतको काम गर्थे । गाउँमै सानोतिनो व्यवसाय थियो । बिस्तारै परिवारका आवश्यकता बढ्दै गएपछि उनले गाउँ छोडे । 

त्यसवेला सहरको रोजगारी र छोराछोरीलाई राम्रो ठाउँमा पढाउने हुटहुटी थियो । ०७५ सालमा बुटवल झरेका पन्थले पार्टनरमा होटेल गर्न थाले । तर, दुर्भाग्य ०७७ बाट कोभिड सुरु भयो । होटेलको कमाइ खस्किँदै गएपछि लगानी डुब्ने जोखिम बढ्यो । उनी फेरि ०७७ मा बुटवलबाट आफ्नै घर फर्किए ।

उनले गाउँ आएपछि एक वर्ष कृषि खोजमा बिताए । ०७८ सालमा आठ सय अकबरे खुर्सानी लगाए । अकबरे खुर्सानीबाट ५२ हजार रुपैयाँ कमाएपछि पन्थ उत्साहित भए । ०७९ मा पुनः २२ हजार अकबरे खुर्सानी लगाएपछि उनले साढे सात लाख आम्दानी गरे । 

उनले खुर्सानीबाट मात्रै साढे चार लाख नाफा कमाए । अहिले उनले खुर्सानीसहित बेमौसमी ८५ सय बन्दागोभी रोपेका छन् । बेमौसमी तरकारीको मूल्य राम्रो भए पनि उत्पादन सफलतामा चुनौती छ । 

उनी लामो समयको खडेरी र पछिल्लो समय निरन्तर परेको पानीले गोभीमा केही समस्या भए पनि राम्रो आम्दानीको आशामा छन् । उनले कृषि ज्ञान केन्द्रमार्फत आर्थिक तथा प्राविधिक सहयोग पाएका छन् । 

पन्थले कृषि ज्ञान केन्द्रका हरेक कर्मचारीको किसानमैत्री मानसिकताको प्रशंसा गरे । उनले बजारको समस्या समाधानमा राज्यले काम गरे आफूहरूले भनेको समयमा लगानीअनुसारको उत्पादन गर्न सकिने बताए ।

पन्थले गाईभैँसीबाट दैनिक २५ लिटर दूध गौरव डेरी रिडी पठाउँदै आएका छन् । उनले छिमेकी ज्ञानेश्वर ज्ञवालीको करिब ६० रोपनी जग्गा वार्षिक २० हजारका दरले लिजमा लिएका छन् । आगामी वर्ष सरकारीस्तरबाट सहयोग भए दुई हजार कागती रोप्ने उनको योजना छ । त्यसबाहेक थोपा सिँचाइमार्फत बाँकी जग्गाको उपयोगका विषयमा पनि स्थानीय तह र कृषि ज्ञान केन्द्रसँग समन्वय भइरहेको पन्थले बताए । 

पन्थले कृषिसँगै व्यावसायिक ब्राेइलर कुखुरा पनि पालेका छन् । कुटानी–पिसानी र किराना व्यवसायसमेत गरेका छन् । पन्थ गाउँ फर्किएर कृषिमा त रमाएका छन् नै । छोराछोरीको पढाइले समेत उत्साहित छन् । उनका १० वर्षीय छोरा रिगन पन्थ अर्जुन आवासीय माध्यमिक विद्यालयको कक्षा पाँचमा अध्ययनरत छन् । 

६ वर्षीया छोरी रियान्सी पन्थ सरस्वती बोहा आधारभूत विद्यालयमा पढ्छिन् । छोराछोरी नै विद्यालयका उत्कृष्ट विद्यार्थी हुन् । श्रीमती रिता कँडेल पन्थले पनि पतिकै कृषि कर्ममा सहजीकरण गरेकी छिन् । 

पन्थको परिवारबाहेक दैनिक दुईजनाले काम गर्छन् । सिजनअनुसार धेरैजनालाई आंशिक रोजगारी दिँदै आएको पन्थले बताए । लुम्बिनी कृषि तथा पशुपक्षी फर्ममार्फत पन्थलाई कृषि ज्ञान केन्द्र गुल्मीको एक लाख रुपैयाँको सहयोगमा मल्चिङ प्रविधिमा आधारित बेमौसमी गोभी उत्पादनको काम दिएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए। 

See More On

सुझावित समाचार