गुल्मी जिल्ला पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा भएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय तथा प्रदेश खोप समन्वय समितिका सदस्यसचिव डाक्टर विनोदकुमार गिरीले पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरेका हुन्।
जिल्लाका १२ वटै स्थानीय तहले पूर्ण खोप दिगोपना सुनिश्चितताको मापदण्ड पूरा गरेपछि गिरीले पूर्ण खोप दिगोपना सुनिश्चितता भएको प्रमाणपत्र जिल्ला खोप समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीलाई प्रदान गरेका थिए।
जिल्लामा १५ महिनासम्मका बालबालिकाले मापदण्डअनुसार लगाउनुपर्ने सम्पूर्ण खोपहरू लगाएपछि पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिने स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिए। गुल्मी जिल्लालाई ३० चैत ०७१ मा नेपालमै सातौँ जिल्लाको रूपमा पूर्णखोप जिल्ला घोषणा गरिएको आचार्यले बताए।
पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरी प्रमाणपत्र प्रदान गर्दै लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय तथा प्रदेश खोप समन्वय समितिका सदस्यसचिव डाक्टर विनोदकुमार गिरीले राष्ट्रिय अभियान पूरा गर्न वडा, पालिकादेखि जिल्लासम्म खटिने सबैलाई बधाई ज्ञापन गरे।
उनले घोषणासँगै निरन्तरताको चुनौती पनि सँगसँगै रहने भएकाले थप सक्रियताका लागि आग्रह गरे। गुल्मी जिल्लामा १५ महिनाभित्रका चार हजार सातजना बच्चाले पूर्णखोप प्राप्त गरेका छन्।
१६ देखि २४ महिनासम्मका दुई हजार ६ सय १४ जना रहेकोमा चारजना आंशिक रूपमा खोप लगाउन छुटेको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले जानकारी दिए।
क्षयरोग, रोटा भाइरसबाट हुने झाडापखला, पोलियो, स्टेपटोकोकस निमोनियाँ, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, मेनेन्जाइटिस, दादुरा, रुबेला, जापानिज इन्सेफ्लाइटिस र टाइफाइडविरुद्धका १३ रोगका खोप बालबालिकालाई प्रदान गर्ने गरिएको अर्यालले बताए।
जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक द्रोणबहादुर खत्रीले हरेक क्षेत्रको लक्ष्यअनुसार प्रगति हासिल गर्न सर्वपक्षीय सहयोग र समन्वय आवश्यक रहेको बताए। हरेक पालिकास्तरबाट स्वास्थ्यका सम्पूर्ण मापदण्डहरू समयमै पूरा गर्ने र कार्यान्वयनमा सक्रियता आवश्यक रहेको खत्रीले बताए।
कार्यक्रममा जिल्लाका विभिन्न पालिका, संघसंस्था र निकायहरूका प्रमुख तथा प्रतिनिधिहरूले आफ्नो भनाइ राखेका थिए। जिल्लामा तीन सय ३२ वटा खोपकेन्द्र रहेका छन् भने १२ वटै पालिकामा खोप भण्डारण उपकेन्द्र छन्।
स्वास्थ्य कार्यालयले पूर्णखोप दिगोपन सुनिश्चितताका लागि विभिन्न रणनीतिक योजनाहरू निर्माण गरेको छ। प्रभावकारी एवं गुणस्तरीय नियमित खोप सेवा सञ्चालन, प्रत्येक वर्ष चैत्त महिनाभित्र स्वास्थ्यकर्मीको संलग्नतामा घरधुरी सर्वेक्षण, प्रतिवेदनको समीक्षा, विश्लेषण, अभिलेख तथा प्रतिवेदन, खोप सेवाको सुदृढीकरणका लागि सूक्ष्म योजना अद्यावधिक र छुट बच्चाहरूलाई खोप प्रदान गर्ने गरेको छ।