नेपाल निर्माण व्यवसायीहरूले निर्माण कार्यको म्याद थप गर्न माग गर्दै धर्ना दिएका छन्। शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा भेला भई निर्माण व्यवसायीहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्दै धर्ना दिएका हुन् । उनीहरूले निर्माण व्यवसायीहरूले गरेको कामको भुक्तानी अर्थमन्त्रीले नदिने भनेको भन्दै अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताए ।
अर्थमन्त्री, अर्थसचिव र विकासे मन्त्रालयका मन्त्रीहरूले पनि निर्माण व्यवसायीहरूले गरेका भुक्तानी कुनै पनि किसिमबाट गर्ने प्रतिबद्धता जनाए पनि असार मसान्तसम्म निर्माण व्यवसायीले गरेका कामको भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।
उनले सरकारले भुक्तानी नदिँदा बैंकले निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको, मजदुरलाई पारिश्रमिक दिन नसकेकोलगायतका समस्या झेल्नुपरिरहेको भन्दै सरकारले भुक्तानी गर्न नसके तत्काल यस्ता आयोजनाहरू खारेज गर्नुपर्ने बताए । उनले निर्माण व्यवसायीहरूसँग सम्झौता गरेर भुक्तानी गर्न सक्दिन भन्न सरकारले नपाइने बताए । उनले लामो समयदेखि निर्माणको काम ठप्प भइरहेको र यसको प्रमुख कारण सरकारले काम गर्ने वातावरण बनाउन नसकेको बताए ।
विरोध कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष रामजी पन्तले निर्माणसम्बन्धी सम्झौता सरकारले गर्ने र व्यवसायीहरूलाई बजारबाट ऋण उठाएर निर्माण गर्न लगाउने, तर सरकारले भुक्तानी नदिँदा निर्माण व्यवसाय नै धरापमा परेको बताए । उनले भुक्तानी दिन नसक्ने अर्थमन्त्रीले तत्काल राजीनामा दिन माग गरे ।
व्यवसायीहरूले माइलस्टोनको व्यवस्था तुरुन्त खारेज गर्, मूल्य समायोजन तुरुन्त कार्यान्वयन गर्, असार मसान्तमा निर्माण कार्यको बाँकी रकम तुरुन्त भुक्तानी गर्, निर्माण कार्यको म्याद थप गर्, व्यवसायीले आत्मदाह गर्ने क्रम बन्द गराउलगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।