डडेल्धुराको गन्यापधुरामा खोलाले बगाउँदा ६२ वर्षीय एक वृद्धाको ज्यान गएको छ। गन्यापधुरा गाउँपालिका– ४ को खारीखोला तर्ने क्रममा कुलेडी गाउँकी दुर्गा बोहराको ज्यान गएको हो।
खोला तर्ने क्रममा बोहरा बेपत्ता भएकी थिइन्। बिहीबार दिउँसोदेखि गन्यापधुरालगायत डडेल्धुराका विभिन्न स्थानमा ठूलो वर्षा भएको थियो। वर्षाकै कारण खोला उर्लिएर आएको स्थानीयवासी लोकेन्द्र पनेरूले जानकारी दिए।
खोलाले बगाउँदा बेपत्ता भएको खबर स्थानीयवासीले प्रहरीलाई गरेका थिए। उनको खोजतलास गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। बगेको स्थानबाट एक किलोमिटर तल शव फेला परेको प्रनाउ भट्टले बताए।
बिहीबार दिउँसो साढे दुई बजेतिर बोहरालाई खोलाले बगाएको प्रहरीले जनाएको छ। खारीखोला गन्यापधुरा गाउँपालिकाको सदरमुकामबाट पैदल एक घण्टाको दूरीमा पर्छ।