जिल्ला प्रहरी कार्यालय सिराहामा तीन दिनअघि प्रहरी जवानलाई हात बाँधेर यातना दिएको घटनाको अनुसन्धानका लागि मधेस प्रदेश प्रहरी कार्यालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । प्रहरी जवान २७ वर्षीय अनु रायलाई पछाडिबाट हात बाँधेर यातना दिएको घटना बुधबार सार्वजनिक भएपछि मधेस प्रदेश प्रहरीले बुधबार प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरेको हो ।
प्रहरी नायब उपरीक्षक संयोजक रहेको छानबिन समितिमा बाँकी चारजना पनि प्रदेश प्रहरी कार्यालयकै प्रहरी अधिकारी रहेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ‘छानबिन समितिले बुधबारदेखि नै सिराहा आएर छानबिन थालिसकेको छ,’ उनले भने, ‘छानबिन समितिलाई दिन किटान नगरी जतिसक्दो छिटो प्रतिवेदन बुझाउने गरी निर्देशन दिइएको छ ।’ समितिले प्रतिवेदन नबुझाएसम्म थप बताउन नसकिने उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी रवीन्द्रराज पाण्डेका अनुसार सोमबार साँझ भएको भनिएको घटनाको विषयमा छानिबन समितिले काम थालिसकेको छ । सिराहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बूले प्रहरी जवान रायले मदिरा सेवन गरी सर्वसाधारण र प्रहरी कर्मचारीलाई कुटपिट तथा दुव्र्यवहार गरेपछि नियन्त्रणमा लिई सम्झाएको दाबी गरे पनि स्वस्थ्य परीक्षण रिपोर्टमा भने मदिरा सेवन नगरेको पाइएको छ । सिराहास्थित प्रादेशिक अस्पतालका वीरेन्द्र यादवको हस्ताक्षर रहेको स्वास्थ्य परीक्षण रिपोर्टमा उनले मदिरा सेवन नगरेको उल्लेख छ ।
महोत्तरीको जलेश्वर नगरपालिका– ८ फुलहट्टा स्थायी घर भएका रायले आफूलाई बढी ड्युटीमा खटाइएको बारेमा प्रहरी निरीक्षक हेमन्त राईलाई गुनासो गर्न जाँदा भनाभन भएपछि पछाडिबाट हात बाँधेर कुटपिट गरिएको भनिएको भिडियोमा सुन्न सकिन्छ । भिडियोमा रोइरहेका देखिएका उनलाई अन्य प्रहरी अधिकारीले गाली–गलौज तथा मादक पदार्थ सेवन कहाँ गरेको भन्ने सोधिरहेका छन् । ‘मैले रक्सी खाएको छैन, मेरो हात खोलिदिनुस्, रक्सी खाएको प्रमाणित भए म जागिर छोड्छु,’ रायले भिडियोमा रुँदै बोलेको सुनिन्छ । भिडियोमा प्रहरी निरीक्षक राईले रक्सी खाए–नखाएको नतिजा जाँचपछि निस्किन्छ भन्दै मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिइरहेको समेत सुनिन्छ ।