प्रधानमन्त्री प्रचण्डलाई पत्नीशोक : दिवंगत सीताको राजकीय सम्मानका साथ अन्त्येष्टि

बिहिबार, २८ असार, २०८०
डिजिटल संस्करण
प्रधानमन्त्री प्रचण्डलाई पत्नीशोक : दिवंगत सीताको राजकीय सम्मानका साथ अन्त्येष्टि

पशुपति आर्यघाटमा पत्नी सीता दाहाललाई अन्तिम श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री प्रचण्ड तथा छोरीहरू रेनु र गंगा । साथमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र माधवकुमार नेपाललगायतका नेताहरू । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

- भारतीय प्रधानमन्त्री मोदी तथा चीन र अमेरिकाले गरे दु:ख व्यक्त
- पूर्वप्रधानमन्त्रीहरू देउवा, ओली र नेपालले आर्यघाट पुगेर दिए श्रद्धाञ्जली

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जीवनसंगिनी एवं माओवादी सल्लाहकार सीता दाहालको ६९ वर्षको उमेरमा बुधबार निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्रा.डा. युवराज शर्माले बताए । 

श्वासप्रश्वासमा समस्या आएपछि बुधबार बिहान ८ बजे उनलाई अस्पताल लगिएको थियो । सीता पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । मंसिर ०७४ मा छोरा प्रकाशको अल्पायुमै निधन भएछि सीताको स्वास्थ्य कमजोर भएको थियो । अमेरिका, भारत र सिंगापुरमा समेत उनको उपचार गरिएको थियो, तर रोग निको भएको थिएन ।

सीताको बुधबार नै राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री प्रचण्ड तथा छोरीहरू रेनु र गंगाले सीताको पार्थिव शरीरमा दागबत्ती दिएका थिए । अन्त्येष्टिमा परिवारका अन्य सदस्य पुगेका थिए । उनको पार्थिव शरीरमा नेपालको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।

दाहसंस्कारअघि सीताको शव पशुपतिको ब्रह्मनालमा राखिएको थियो । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएका थिए । मन्त्रिपरिषद्कोे बैठकले राजकीय सम्मानस्वरूप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो । 

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित मन्त्रीहरू, मुख्यसचिव वैकुण्ठ अर्याल, सांसद, सचिव, कूटनीतिक नियोगका पदाधिकारी, विभिन्न दलका नेता तथा कार्यकर्तालगायत शुभेच्छुक सीतालाई श्रद्धाञ्जली अर्पण गर्न पशुपति आर्यघाट पुगेका थिए । त्यसअघि सीताको पार्थिव शरीरलाई माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिको थियो । दलका नेता तथा कार्यकर्ता र आफन्तले पेरिसडाँडा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

त्यसैबीच माओवादीले शोक वक्तव्य जारी गरी सीताको दु:खद निधन भएकोमा सिंगो पार्टी स्तब्ध भएको जनाएको छ । वक्तव्यअनुसार सीता ०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध भएकी थिइन् । जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल उनी माओवादीको केन्द्रीय सल्लाहकार रहेको वक्तव्यमा उल्लेख छ । 

‘पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन बिताउनुभएकी सीता दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै जनयुद्धका आँधीमय वर्षहरूमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो,’ महासचिव देव गुरुङले जारी गरेको वक्तव्यमा छ । 

सीताको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको तथा उनले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविष्मरणीय योगदान पुर्याएको वक्तव्यमा छ । ‘सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण उहाँका विशेषता हुन् । उहाँ आफ्नो योगदानमार्फत चिरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ,’ गुरुङको वक्तव्यमा उल्लेख छ । 

त्यसैबीच माओवादीले पार्टी सल्लाहकार सीता दाहालको निधनमा पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ । पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकले बुधबार र बिहीबार सबै पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको थियो । महासचिव देवप्रसाद गुरुङका अनुसार बिहीबार प्रदेश र जिल्ला कार्यालयमा शोकसभा गर्ने निर्णय पनि बैठकले गरेको छ । 

पूर्वप्रधानमन्त्रीहरू तथा विभिन्न दलहरूले व्यक्त गरे श्रद्धाञ्जली
प्रधानमन्त्री प्रचण्डपत्नी सीताको निधनमा विभिन्न शीर्ष व्यक्तिले दु:ख व्यक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सीताको निधनको खबरले आफूलाई अत्यन्त दु:ख लागेको बताएका छन् । पौडेलले बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेर दु:ख व्यक्त गर्दै प्रचण्डसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भन्ने कामना गरेका छन् । उनले परिवारजनमा गहिरो समवेदना पनि प्रकट गरेका छन् । प्रचण्डसहित परिवारजनमा समवेदना प्रकट गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरूलगायत नर्भिक अस्पताल पुगेका थिए ।

पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले सीताको निधनप्रति दु:ख व्यक्त गर्दै परिवारजनमा पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसंगिनी, पार्टीकी नेतृ तथा केन्द्रीय सल्लाहकार सीता दाहालको निधनको खबरले स्तब्ध भएको छु । उहाँको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ प्रचण्डजी लगायत शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाले भनेका छन् ।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीपत्नी सीताको निधनप्रति दु:ख व्यक्त गरेका छन् । ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवनसंगिनी सीता दाहालको निधनको खबरले अत्यन्त दु:खी छु । दिवंगत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नीवियोगमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु,’ ओलीले भनेका छन् । 

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सीताको योगदानलाई सदैव उच्चसम्मानसहित सम्झिरहने बताएका छन् । ‘सम्माननीय प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी तथा नेपालको कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा महत्वपूर्ण योगदान दिनुभएकी महिला नेतृ कमरेड सीता दाहालको निधन भएकोमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकको यस घडीमा प्रधानमन्त्री क. प्रचण्ड, छोरीहरू रेणु र गंगासहित शोकसन्तप्त सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु । यहाँले दिनुभएको योगदानलाई हामी सदैव उच्च सम्मानसहित सम्झिरहनेछौँ,’ नेपालले भनेका छन् । 

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लेखेका छन्, ‘सीता दाहाल अब हामीबाट सदाका लागि बिदा हुनुभएको छ । हार्दिक श्रद्धाञ्जली ! प्रम पुष्पकमल दाहाल र सम्पूर्ण शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना ।’

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सीताको निधनले स्तब्ध बनाएको बताएका छन् । ‘सीता दाहालको निधन भएको खबरले मलाई स्तब्ध बनाएको छ । उहाँले कमरेड प्रचण्डजस्तो नेपाली कम्युनिस्ट आन्दोलनका एक अग्रणी व्यक्तित्वलाई हरघडीमा नजिकबाट साथ दिनुभयो । यस दु:खद घडीमा म दिवंगत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, शोकाकुल प्रचण्ड, रेणु र गंगालगायत शोकसन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ उनले भनेका छन् । 

सभामुख देवराज घिमिरेले सीताको निधनको खबरले स्तब्ध बनाएको बताएका छन् । ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)की जीवनसंगिनी सीता दाहालको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको खबरले स्तब्ध बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ,’ उनले भनेका छन् । 

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सीताको निधनको खबरले अत्यन्तै दु:खी भएको बताएका छन् । ‘सम्माननीय प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डज्यूकी जीवनसंगिनी सीता दाहालको उपचारका क्रममा आज बिहान भएको निधनको खबरले अत्यन्तै दु:खी भएको छु । दिवंगत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । दु:खको यस घडीमा सम्माननीय प्रधानमन्त्री तथा उहाँको शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ उनले भनेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दाहालको निधन भएको खबरले स्तब्ध बनाएको भन्दै यस दु:खद घडीमा उहाँको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले शोक–वक्तव्य जारी गर्दै दाहालको असामयिक निधनप्रति पार्टी मर्माहत र स्तब्ध बनाएको बताएका छन् । ‘यस दु:खद घडीमा सम्पूर्ण रास्वपा परिवार उहाँको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । साथै, शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने हार्दिक कामना गर्दछौँ,’ शोक वक्तव्यमा छ । 

भारतीय प्रधानमन्त्री मोदी तथा चीन र अमेरिकाले गरे दु:ख व्यक्त
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी प्रचण्डकी श्रीमती सीता दाहालको निधनप्रति दु:ख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा मोदीले दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् । ‘श्रीमती सीता दाहालको दु:खद निधन भएको खबरले मर्माहत भएको छु,’ मोदीले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’ 

नेपालस्थित अमेरिकी राजदूत डिन आर थोम्प्सनले पनि प्रधानमन्त्रीपत्नी दाहालको निधनप्रति दु:ख व्यक्त गरेका छन् । ट्विटरमा उनले समवेदना व्यक्त गर्दै परिवारको दु:खसुखमा साथ दिन तयार रहेको बताए । त्यस्तै, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्लेले घटनाबाट आफू मर्माहत भएको भन्दै समवेदना व्यक्त गरेका छन् ।

See More On

सुझावित समाचार