सिजन ब्रेककै अन्तिम होलिडे मनाउँदै मेसी

बुधबार, २७ असार, २०८०
डिजिटल संस्करण

फिफा विश्वकप च्याम्पियन अर्जेन्टिनी कप्तान लियोनल मेसीको सिजन ब्रेक होलिडे सकिँदै छ । अर्को साता उनी इन्टर मियामीमा आधिकारिक रूपमा आबद्ध हुनेछन् । मियामीबाट मैदानमा उत्रनुअघि उनले परिवारका साथ सिजन ब्रेककै अन्तिम बिदा मनाएका छन् । श्रीमती एन्टोनेला र तीन छोराका साथ बिन्दास किसिमले उनले बिदा मनाएको एजेन्सीले जनाएका छन् । यसै सिजनमा मेसी अमेरिकन सकर लिग (एमएलएस)मा आबद्ध भएका हुन् । 

इंग्लिस फुटबलकै आइकोन मानिने डेभिड बेकह्यामको लगानी रहेको इन्टर मियामीले स्टार खेलाडी भित्र्याउने क्रममा मेसीलाई पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट अनुबन्ध गरेको थियो । आधिकारिक रूपमा मियामीले मेसीलाई मैदानमा उतारेको छैन । सम्भवतः बिहीबार उनी मैदानमा देखिन सक्छन् । मियामीले उनलाई फ्रेस रूपमा आबद्ध हुन भनेको छ । मेसीले परिवारका साथ होलिडे मनाइरहेको केही फोटो सोसल मिडियामा पोस्ट गरेका छन् । 

अहिले मेसी र उनको परिवार क्यारेबियन भूमिमा छन् । अमेरिका जानुअघि उनले क्यारेबियनका सुन्दर तटीय क्षेत्र रोजेको एजेन्सीले जनाएको छ । ३६ वर्षीय मेसीले साढे दुई वर्ष मियामीसँग सम्झौता गरेका छन् । मियामीले क्लबमा वर्तमान समयकै उत्कृष्टलाई भित्र्याएको सन्देश दिन सहरभरि नै मेसीको फोटो प्रदर्शनमा राखेको छ । मियामीका सहमालिक बेकह्यामले मेसीले प्रतिवर्ष ५०–६० मिलियन अमेरिकन डलर पाउने बताएका छन् । 

‘अर्जेन्टिनी खेलाडीले प्रतिवर्ष कम्तीमा ६० मिलियन डलर पाउनेछन्,’ बेकह्यामले मेसीको वार्षिक पारिश्रमिक खुलाएका छन्, ‘यसबाहेक बोनस पनि प्राप्त गर्नेछन् ।’ मियामीले मेसीलाई दिने वार्षिक रकम एडिडास र एप्पलले बेहोर्नेछन् । मेसीले लगाउने मियामीको जर्सीमा एसिडासको लोगो अंकित हुनेछ । एप्पलले मेसीको सम्झौता रकम तिर्नेछ । 

आइतबार मियामी पुग्ने
मियामीको मुख्य रंगशाला पिएनके रंगशालामा मेसी अर्को साता सार्वजनिक हुनेछन् । उनीसँगै बार्सिलोनाका पूर्वसहकर्मी सर्जियो बुस्केटलाई मियामीले भव्य समारोहबीच सार्वजनिक गर्ने कार्यक्रम बनाएको छ । अर्को साताको बिहीबार यी दुवै खेलाडीले आधिकारिक रूपमा लिग कपमा मेक्सिकन टोली क्रुज अजुलविरुद्ध खेल्नेछन् । मियामीले घरेलु लिगमा पछिल्ला १० खेल गुमाएको छ । आठ अंकका साथ मियामी पुछारमा छ । मियामीका नयाँ प्रशिक्षक मार्टिनोले मेसी र बुस्केटको आगमनले क्लबको प्रदर्शनमा सुधार हुने जनाएका छन् ।  

मेसीको प्रतीक्षा 
बेकह्यामले मेसी मियामीमा आउने भनेपछि लाखौँ एसएमएस आएको खुलाएका छन् । ‘तपाईंहरूलाई विश्वास नलाग्न सक्छ, मेसी आबद्ध भएदेखि मेरो मोबाइलमा लाखौँ एसएमएस आएका छन्,’ उनले भने, ‘सामान्यतः म मोबाइलमा के आएको भनी हेर्दिनँ, तर अर्जेन्टिनी खेलाडी आउने निर्णयलगत्तै म मोबाइलमा व्यस्त भएको छु ।’ बेकह्यामले मियामीले सधैँ स्टार खेलाडी भिœयाउने योजना रहेको जनाए । ‘सधैँ राम्रा खेलाडी भित्र्याउने प्रयास मेरो रहनेछ, यसपटक वर्तमान समयकै उत्कृष्ट खेलाडीलाई ल्याउन सफल भएँ,’ उनले भने, ‘मियामीका समर्थक मात्र नभएर म पनि उनको प्रतीक्षामा छु ।’ मेसीको आगमनले लिगको संरचना र खेलको स्तर नै फरक हुने उनले बताए । 

See More On

सुझावित समाचार