प्रमुख सचेतक अनिता देवीको नाम मन्त्रीका लागि सिफारिस, मन्त्रालय टुंगो लाग्न बाँकी

सरकारमा सहभागी हुँदै जनमत

मंगलबार, २६ असार, २०८०
डिजिटल संस्करण

जनमत पार्टीले सरकारमा सहभागी हुने मन्त्रीको नाम पठाएको छ। प्रमुख सचेतक अनिता देवीको नाम मन्त्रीका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए। 

‘प्रधानमन्त्रीले नाम माग्नुभएको थियो। पार्टीको आज बसेको बैठकबाट प्रमुख सचेतक अनिता देवीलाई मन्त्री बनाएर सरकारमा पठाउने निर्णय गरेका छौँ। मन्त्रालयको टुंगो लाग्न बाँकी छ,’ उनले भने। 

प्रधानमन्त्री प्रचण्डले माओवादीले सम्हाल्दै आएका मन्त्रालयमध्ये एकजना फिर्ता बोलाएर जनमत पार्टीलाई सरकारमा सहभागी गराउने गृहकार्य थालेका छन्। संघीय मामिला वा पर्यटनमध्ये एकमन्त्री फिर्ता बोलाउने तयारी रहेको माओवादी नेताहरूको भनाइ छ।

सरकारलाई समर्थन कायमै राखेको जनमत मन्त्रालयमा असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिएको थियो। यसअघि जनमतबाट उपाध्यक्ष अब्दुल खान खानेपानी मन्त्री भइसकेका छन्। 

केही दिनअघि प्रधानमन्त्री प्रचण्डले जनमत अध्यक्ष राउतलाई भेटेर सरकारमा सहभागी हुने मन्त्रीको नाम माग गरेका थिए। साथै, एउटा संसदीय समितिको सभापति दिने प्रतिबद्धतासमेत जनाएका थिए।

सुझावित समाचार