आइएमई लाइफको आइपिओमा पौने चार अर्बको सेयर माग गर्दै १२ लाख ९० हजारको आवेदन

मंगलबार, २६ असार, २०८०
डिजिटल संस्करण

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गरेको साधारण सेयरका लागि १२ लाख ९० हजार लगानीकर्ताले आवेदन दिएका छन् । सर्वसाधारणका लागि प्रिमियममा आइपिओ बिक्री गरेको सो कम्पनीको अन्तिम दिन अर्थात् सोमबारसम्म एक करोड ५७ लाख कित्ता सेयरका लागि आवेदन दिएको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको हो ।  

लाइफ इन्स्योरेन्स कम्पनीहरूमा आइएमई लाइफले नेपालमै पहिलोपटक प्रिमियम मूल्यमा सेयर निष्कासन गरेको हो । कम्पनीले एक सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर दुई सय ३६ रुपैयाँ ९१ पैसा दरमा एक करोड २० लाख कित्ता सेयर निष्कासन गरेको थियो । 

जसमा कुल तीन अर्ब ७४ करोड रुपैयाँबराबरको आवेदन परेको जनाइएको छ ।  कम्पनीले जारी गरेको कुल सेयरमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीलाई वितरण गरिसकिएको जनाइएको छ । 

त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषलाई र अर्को ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सस्थाका कर्मचारीलाई छुट्याएर बाँकी ९६ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको कम्पनीले जनाएको छ । सामान्यतया सकेसम्म धेरै आवेदकलाई सेयर प्रदान गर्ने नीतिअनुसार नौ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गर्ने देखिएको छ ।     

सुझावित समाचार