प्रधानमन्त्रीको ‘भावुक’ सम्बोधनसँगै संसद्को गतिरोध अन्त्य

मंगलबार, २६ असार, २०८०
डिजिटल संस्करण
प्रधानमन्त्रीको ‘भावुक’ सम्बोधनसँगै संसद्को गतिरोध अन्त्य

सोमबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिन रोस्ट्रमतर्फ जाँदै प्रधानमन्त्री प्रचण्ड । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

आत्मसमीक्षासहित विपक्षतिर तेर्स्याए प्रतिप्रश्न 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिको सदनमा आत्मसमीक्षा गरेपछि पाँच दिनदेखि जारी संसद्को गतिरोध अन्त्य भएको छ । सम्बोधनमा आफ्ना कमजोरी स्विकारेका प्रधानमन्त्रीले प्रचण्डले विपक्षीतिर भने प्रश्नैप्रश्न तेर्स्याएका छन् । 

सम्बोधनको सुरुमा प्रधानमन्त्री प्रचण्डले विपक्षीले मुद्दा बनाएको आफ्नो अभिव्यक्तिको पृष्ठभूमि ब्याख्या गरे । आफ्नो आत्मसमीक्षाका क्रममा प्रधानमन्त्री प्रचण्डले विषयवस्तु ११ वर्षअगाडि भए पनि अहिले भावनात्मक रूपमा बोल्न पुगेको र यसलाई आफूले ‘महसुस’ गरेको बताए । 

‘यो ०६८–०६९ सालको कुरा हो । मेरो जेठी छोरी ज्ञानु क्यान्सरबाट पीडित भएर जीवन–मरणको संघर्षमा थिइन् । थप उपचारका लागि रिफर भएपछि दिल्ली जानुपर्ने अवस्था आयो । मेरो दिवंगत छोरा प्रकाशले ज्ञानुलाई लिएर दिल्ली जाँदा बस्ने व्यवस्था अन्यत्र गरिएको थियो,’ प्रचण्डले सुनाए, ‘तर, सरदार प्रितम सिंह, जसको पुस्तक विमोचनका सन्दर्भमा यो कुरा आएको छ, उनीसँग हाम्रो पारिवारिक सम्बन्ध थियो । उनले दिल्लीमा मेरो आफ्नै घर छ, छोरीको उपचार त्यहीँ राखेर गरे हुन्छ, अरू स्याहारसुसार सजिलो हुन्छ भनेपछि प्रकाशले त्यहीँ लगेको हो । छोरीको अन्तिम वेला थियो, केही समयपछि छोरीको स्वास्थ्य स्थिति बुझ्न गएको वेलाको कुरा हो यो ।’

छोरीको अन्तिम अवस्थाको भावनात्मक स्थितिमा आफू त्यहाँ पुग्दा सरदार सिंहसँग भेट भएको र उनले ‘नेपालमा प्रधानमन्त्री तपाईं नै हुनुपर्छ’ भनेर प्रसंग उठाएको प्रचण्डले उल्लेख गरे । ‘उहाँले भनेर म प्रधानमन्त्री हुनेवाला पनि थिइनँ । मैले उहाँलाई फेरि प्रधानमन्त्री बनाइदिनुस् भन्ने कुरा पनि थिएन । तर, उहाँले भावनामा आएर यो परिवर्तन ल्याउने मुख्य तपाईं हो, त्यसकारण प्रधानमन्त्री तपाईं हुनुपर्छ, मैले यहाँ दिल्लीमा पनि कुरा गर्ने गरेको छु, नेपालमा पनि दलहरूसँग कुरा गर्ने गरेको छु भन्नुभयो,’ प्रचण्डले सुनाए, ‘मैले तपाईंको शुभेच्छाका लागि धन्यवाद, अहिले त्यो स्थिति छैन भनेँ ।’ 

एउटा पारिवारिक वातावरणमा अलिकति भावनात्मक भएर प्रितम सिंहले उठाएको कुरामा सदासयताका लागि धन्यवाद मात्रै भनेको उल्लेख गर्दै प्रचण्डले थपे, ‘पुस्तक विमोचनको क्रममा उहाँले यातायात क्षेत्रमा गरेको सन्दर्भ आयो, अरू सामाजिक कामका कुरा आउँदै जाँदा मैले झ्वाट्ट ११ वर्षअघि छोरी डेथ बेडमा हुँदा गरेको कुरा सम्झेँ । अनि मैले भने कि सरदार सिंह खाली यातायात र सामाजिक सेवामा मात्र होइन, राजनीतिमा पनि चासो राख्नुहुन्छ । उहाँले एक चरणमा मलाई प्रधानमन्त्री बनाउन दिल्लीमा कुरा गरेको र देशभित्रका दलसँग पनि कुरा गरेको कुरा गर्नुभएको थियो । त्यसकारण उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ भनेको हो । मैले सम्झेको ०६८–६९ कै कुरा हो । छोरी पल्टिरहेको बेड पनि सम्झेँ । प्रितमले भनेको कुरा पनि सम्झेँ ।’

आफू भावनात्मक भएको र भावनामा आएर बोलेको उल्लेख गर्दै प्रचण्डले त्यस्तो अभिव्यक्ति नदिएको भएहुन्थ्यो भन्ने महसुस भएको सुनाए । प्रितम सिंह कुनै शक्तिकेन्द्र नभएको र प्रधानमन्त्री बनाउने र हटाउने सामथ्र्य नभएको र सम्पर्क व्यक्ति पनि नभएको सर्वविदितै रहेको, नेता र प्रधानमन्त्रीको हैसियतभन्दा बिरामी छोरीलाई संकटमा आश्रय र सहयोग गरेकोमा कृतज्ञ बाबुको सम्बन्ध मात्र रहेको प्रचण्डको स्पष्टीकरण थियो । प्रधानमन्त्री प्रचण्डले आफू निजी र सार्वजनिक कार्यक्रममा मनबाट बोल्ने गरेको र यो बानी बदल्न प्रयास गरे पनि फलामको चिउरा चपाएजस्तो बाध्यता सुनाए । ‘विषयवस्तुको अन्तर्यभन्दा पनि शब्द र रूप हेर्ने संस्कार हाबी भइरहेका वेला मेरो यो तहको भावुकता ठीक नभएको निष्कर्षमा पुगेको छु । यो भावुकताले काम दिँदैन भन्ने निष्कर्षमा म पुगेकै छु । तर, स्वभाववश म अन्तर्मनको आवाजतिर फर्किहाल्दोरहेछु’, प्रचण्डले भने, ‘मनभित्र कुनै मैलो छैन र नियत सफा छ भने भित्र र बाहिरका अभिव्यक्ति समान हुँदारहेछन् । यो स्वभावजन्य भावुकताका लागि म यो सदनसमक्ष आत्मसमीक्षा गर्न चाहन्छु । भविष्यमा यहाँ चलेको बहसले मलाई सतर्क हुन उत्प्रेरित गरेको छ ।’

विपक्षीमाथि प्रतिप्रश्न 
प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिमाथि प्रश्न उठाउने राजनीतिक दलहरूको नियतमाथि प्रतिप्रश्न गरे । ‘यहाँ प्रश्न उठाइयो, मलाई प्रधानमन्त्री कसले बनायो, नेपालमा प्रधानमन्त्री कसले बनाउँछ ? यो प्रश्नले मभित्र धेरै भाव तरंग आयो । यो प्रश्न प्रतिपक्ष दलका नेता, ती साथीहरू, जसले लिखित रूपमा पहिलोपटक प्रस्तावित गरेर मलाई प्रधानमन्त्री बनाउनुभयो, उहाँहरूबाट नै आएको देख्दा म गम्भीर भएको छु,’ प्रचण्डले भने, ‘किनकि मलाई प्रधानमन्त्री सरदार प्रितम सिंहले दिल्ली गएर बनाएर ल्याएको त होइन । प्रतिपक्षी दलका नेता साथीलाई राम्रो थाहा छ, त्यतिखेर के स्थिति थियो ? अरूको के थियो भित्र, बाहिर र म प्रधानमन्त्री कुन परिवेशमा कसरी भएँ भन्ने सबभन्दा बढी विपक्षी दलका नेता (ओली)लाई थाहा छ । ककसले कसरी रोक्न खोजेका थिए भन्ने कुरा थाहा हुँदाहुँदै अहिले राष्ट्रपतिलाई आफैँले लेखेको पत्रको यति ठूलो अवहेलना हुने गरी प्रश्न कसरी उठाइयो ?’ 

आफूलाई प्रधानमन्त्रीका रूपमा यही सदनबाट ९९ प्रतिशतभन्दा बढी समर्थन पाएको स्मरण गराउँदै प्रचण्डले असाधारण परिघटनाको समीक्षा हुनुपर्ने हो कि होइन भनी प्रश्न गरे ।  सार्वजनिक अभिव्यक्तिमा भाषा नमिलेको विषयमा सिंगो सदनमाथि प्रश्न उठाउनु र स्पष्टीकरणको मौका नदिई प्रस्तुत हुनु उचित र औचित्य हो वा होइन भन्ने प्रश्न पनि विपक्षीसामु राखेँ । ‘अहिले म प्रधानमन्त्री छु, भोलि अर्काे हुनेवालै छ । सबैले त (जवाफ) दिइराख्नुपर्ला । नयाँ तयारीमा रहेकाले पनि दिनुपर्ला । त्यसमाथि सिंगो देश निराशाबाट बिस्तारै आशातिर जान खोजेको, सुशासनका पक्षमा, जनअपेक्षा तथा जनसरोकारको पक्षमा एकपछि अर्काे कदम चालिरहेको वेला उठाइएका यी प्रश्नको अर्थ र औचित्य के हुने हो ?’ उनले सोधे ।

सुशासन र सेवामा सहजता ल्याउन, विचाराधीन थुप्रै मुद्दा निरूपण गर्न दृढताका साथ जरोसम्मै पुग्ने गरी सरकार अगाडि बढेको वेला आएका परिघटना विचित्र भएको उनको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जनताको निराश परिस्थितिमा यसो केही लाग्नेबित्तिकै संसद् अवरुद्ध गर्ने परम्परा रोक्नुपर्ने जोड दिए । यसको सट्टा संवाद गर्नुपर्ने, आफ्नो कुरा तथ्यसंगत ढंगले राख्नुपर्ने अभ्यास विकास गर्नुपर्ने उनको आह्वान थियो । नैतिकताको कुरा उठाएका विपक्षीलाई प्रधानमन्त्री प्रचण्डले विगत हेर्न सुझाव दिए । ‘नैतिकता कसले देखायो यो देशमा, कसले देखाएन गहिरो गरी छातिमा हात राखेर विवेचना गरौँ । दुवैपटक नैतिकताको धरातलमा टेकेर प्रधानमन्त्री छोडेको हुँ । अहिले पनि मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि बस्दिनँ’, प्रचण्डले भने, ‘तर हामीले एउटा संस्कार पनि बसाउनुछ । प्रतिपक्षीले माग्दैमा सत्तापक्ष भागिहाल्ने हो भने देशको गति के हुन्छ ?’ भविष्यमा सच्याउनै नसक्ने गरी निष्कर्षमा नपुग्न उनले विपक्षीको ध्यानाकर्षण गराए । राष्ट्रको स्वाधीनता र भौगोलिक अखण्डताका निम्ति हिजो क्रान्तिका क्रममा वर्षाैँसम्म लडाइँ लडेको र नाकाबन्दी हुँदा अडान लिएर संघर्ष गरेको स्मरण गर्दै प्रचण्डले एउटा भावनात्मक अभिव्यक्तिले सबै सिद्धिएको हो भनेर पनि प्रश्न गरे ।  

स्पष्टीकरणको मौका नदिई राजीनामा ?
प्रधानमन्त्री प्रचण्डले गम्भीर विषयमा प्रश्न उठाएर बोल्न समय नदिएको, यथार्थ के हो भनेर स्पष्टीकरण दिन चाहे पनि अवरोध गरिएको गुनासो गरे । ‘सुरुदेखि स्पष्ट पार्न पर्खेर बसेको थिएँ । किन संसद् अवरुद्ध गरियो ? राजीनामा नआएसम्म संसद् चल्न दिन्न किन भनियो, यही हो संसदीय अभ्यास ?’ उनले सोधे । 

प्रतिपक्षलाई राजीनामा माग्ने र नैतिकताको कुरा उठाउने अधिकार भए पनि स्पष्टीकरणको मौका नदिएर राजीनामा माग्नु संसदीय अभ्यास र पद्धतिको स्तरभित्र नपर्ने उनको भनाइ थियो । ‘मैले एकचोटि सदनमा उभिएर यथार्थ के हो, मेरो कमजोरी भयो भने कहाँनेर हो, मैले भन्न पाउनुपर्दैन ? किन पाँच दिनसम्म अवरुद्ध गरियो मैले बुझ्न सकेको छैन,’ प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षले राजीनामा माग्नेबित्तिकै दिनुपर्ने हो भनेर पनि प्रश्न गरे । ‘यही हो लोकतान्त्रिक परम्परा विधि ? प्रतिपक्षीले प्रश्न उठाउनेबित्तिकै प्रधानमन्त्रीलाई सदनसमक्ष स्पष्टीकरणको मौका पनि दिन नहुने हो ?’ प्रश्न दोहोर्याए । शान्ति प्रक्रियामा आइसकेपछि पहिलो र दोस्रो संविधानसभा तथा देशमा भएका थु्रपै राजनीतिक घटनाक्रम र प्राकृतिक विपत्का क्रममा आफ्नोतर्फबाट भएका कमीकमजोरीका सन्दर्भमा सबैभन्दा सहज ढंगले आत्मसमीक्षा गर्ने र त्यसलाई सच्याउने काम आफूले गर्दै आएको दाहालले स्मरण गराए । सदनमा पनि भएका कमजोरीलाई स्विकार्ने गरेको उनले सुनाए । 

मिटरब्याजीविरुद्ध एकढिक्का
प्रधानमन्त्री प्रचण्डले मिटरब्याजसम्बन्धी अध्यादेश खारेजी र संसद् अवरोधसँग कुनै साइनो नभएको स्पष्टीकरण दिए । यो संयोग मात्रै भएको उनको भनाइ थियो । ‘मैले सत्तागठबन्धनभित्र पनि मिटरब्याज विधेयकलाई ६०औँ दिनमा किन पुर्याइयो भनेर प्रश्न राखेको थिएँ । हाम्रो कार्यशैलीमा त्रुटि छ । ६०औँ दिनमा के हुने हो भनेजस्तो भयो । संयोगवश त्यही दिन मेरो राजीनामा मागेर अवरोध खडा भयो । त्यो अध्यादेश निष्क्रिय भयो,’ प्रधानमन्त्रीले भने, ‘अब प्रतिस्थापन विधेयकको रूपमा सदनमा छ । प्रमुख प्रतिपक्षीदेखि विपक्षीहरूले दृढताका साथ मिटरब्याजीको पक्षमा छौँ भनेकोमा खुसी पनि लागेको छ । अब यो पास भयो भन्ने ठानेको छु ।’

मिटरब्याजको विषय तीन वर्षअगाडि उठान भएको र यसविरुद्ध संघर्षमा रहेका आफ्नो दलको एक युवा नेताको रहस्यमयी मृत्यु भएको उल्लेख गर्दै प्रचण्डले समस्याको दीर्घकालीन समाधान गर्न कानुनी र व्यावहारिक तहले जानुपर्छ भनेर अध्यादेश ल्याइएको जानकारी गराए । मिटरब्याजपीडित गरिब जनतालाई न्याय दिने प्रमुख कुरा रहेको र विपक्षी दलहरूको साथ रहेकोमा उनले पुनः खुसी व्यक्त गरे । 

See More On

सुझावित समाचार