कञ्चनपुरको दोदा नदीमा निर्माण हुने भनिएको पुलको काम आठ वर्षसम्म पनि सुरु भएको छैन। देखतभुली–पर्सिया जोड्ने दोदा नदीमा निर्माण हुने मोटरेबल पुल आठ वर्षसम्म निर्माण नहुँदा स्थानीय पुरानै समस्या झेल्न बाध्य छन्।
पुल निर्माण नहुँदा काठको पुलबाट आवतजावत गर्न एकातिर शुल्क तिर्नुपर्छ भने अर्कोतिर जोखिम मोल्नुपर्छ। ०७२ पुस २६ मा सम्झौता भई दोस्रोपटक म्याद थप गर्दासमेत अहिलेसम्म पुल निर्माणको प्रगति शून्य छ। पुल निर्माणका लागि लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीले सडक डिभिजन कार्यालय महेन्द्रनगरसँग २४ करोड ४२ लाख ६१ हजारमा सम्झौता गरेको थियो। २६ पुस ०७५ मा सम्पन्न गर्नुपर्ने भए पनि पुल निर्माणका क्रममा प्राविधिक त्रुटि देखिएपछि निर्माण कार्य अलपत्र परेको थियो। तीन पिल्लर गाडेर चौथो पिल्लर गाड्ने क्रममा दलदल भेटिएपछि पुलको डिजाइन नै परिवर्तन गरिएको छ। तीन वर्षमा निर्माण सम्पन्न हुनुपर्ने पुलको प्रगति आठ वर्ष बितिसक्दा पनि शून्य छ।
सम्झौता अवधि सकिएपछि पहिलोपटक २५ माघ ०७७ सम्म म्याद थप गरिएको थियो। पहिलोपटक म्याद थप भए पनि काम सुरु नै नभएपछि २६ माघ ०७७ मा दोस्रोपटक ३० असार ०८० सम्म सक्ने गरी म्याद थप भएको थियो। तर, सो अवधिमा समेत पुल निर्माण कार्यको प्रगति एक प्रतिशत पनि नभएको सडक डिभिजन कार्यालयले जनाएको छ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर पीयूष चटौतले सुरुवाती चरणमै पुल निर्माणमा प्राविधिक त्रुटि देखिएपछि डिजाइन परिवर्तन गरिएको बताए। ‘०७५ मै डिजाइन परिवर्तनका लागि कामकाज सुरु भए पनि ०७७ पुसमा मात्र नयाँ डिजाइन स्वीकृत भयो,’ उनले भने, ‘त्यसपछि निर्माण कम्पनी सम्पर्कमा आएन। अहिले बल्ल सम्पर्कमा आएपछि काम सुरुवात गरिरहेको छ।’ सूचना अधिकारी चटौतले डिजाइन परिवर्तनपछि २४ करोड २२ लाख ५६ हजारमा सम्झौता भएको जानकारी दिँदै निर्माण व्यवसायीले चालू आर्थिक वर्ष ०७९–०८० सम्म १२ करोड ३३ लाख २६ हजार भुक्तानी लिएको बताए। उनले भने, ‘नयाँ काम सुरुवात भएपछि मात्रै बाँकी भुक्तानी हुन्छ।’
पुल निर्माण नहुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। लालझाडी गाउँपालिका– ५ का स्थानीय पदमा रानाले पक्की पुल निर्माण नहुँदा वर्षौँदेखि नदी तर्न काठको पुल प्रयोग गर्दै आएको बताइन्। ‘वर्षौँ भइसक्दा पनि शुल्क तिरेर काठको पुलबाट नदी वारपार गर्ने बाध्यता हटेन,’ उनले भनिन्, ‘चुनावमा जहिले पनि नेताहरू पुल बनाउँछु भन्छन्, चुनाव जितेर गएपछि बिर्सिन्छन्।’
लामो समयसम्म पुल निर्माण नभएपछि स्थानीय सचेत भएका छन्। ठेकेदार कम्पनीले लापरबाही गरेपछि निगरानी समूह गठन गरेको स्थानीय अमरसिंह धामीले बताए। उनका अनुसार फट्टे रानाको संयोजकत्वमा नागरिक समिति गठन गरेर निर्माण व्यवसायीलाई नियमित काम गर्न दबाब दिने काम भइरहेको छ। पुल नहुँदा सर्वसाधारण काठेपुलमा मोटरसाइकल, साइकलको शुल्क तिरेर आवतजावत गर्न बाध्य छन्।
‘नदीमा पुल छैन। स्थानीय समितिले निर्माण गरेकै काठेपुल प्रयोग गर्दा सवारीसाधनको शुल्क तिनुपर्छ,’ उनले भने, ‘शुल्कभन्दा पनि ज्यान जोखिममा राखेर आवतजावत गर्नुपरेको छ।’ एकपटकका लागि साइकल तारेको १० र मोटरसाइकल तारेको ३० रुपैयाँ तिर्नुपर्छ।
देखतभुलीका स्थानीय अगुवा जनकराज जोशीले सम्बन्धित निकायबाट ताकेता नहुँदा ठेकेदार कम्पनीले लापरबाही भएपछि पुल निर्माण कार्य अलपत्र परेको बताए। लालझाडी गाउँपालिका– ५ का वडाध्यक्ष पहल थापाले दोदा नदीमा पुल निर्माण नहुँदा स्थानीयलाई दैनिक गाउँबस्ती आवतजावत गर्न निकै समस्या भएको बताए। लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले समयमै पुल निर्माणका लागि पालिकाले सम्बन्धित निकायलाई दबाब दिने आश्वासन दिए।