मौद्रिक नीति खुकुलो आउनुपर्छ : अर्थमन्त्री

सोमबार, २५ असार, २०८०
डिजिटल संस्करण

अर्थमन्त्री डा. प्रकाशशरण महतले खुकुलो मौद्रिक नीति ल्याउनुपर्ने बताएका छन् । मौद्रिक नीति खुकुलो बनाउनेबित्तिकै अर्थतन्त्रले वित्तीय सहजता महसुस गर्ने उनले बताएका हुन् । आर्थिक छलफल चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री डा. महतले खुकुलो मौद्रिक नीति ल्याउन राष्ट्र बैंक नेतृत्वलाई भनेको समेत बताए । 

‘मौद्रिक नीतिलाई अलिकति खुकुलो बनाएर लैजाँदा पनि अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्छ । यो कुरालाई हामीले स्पष्ट ढंगबाट राष्ट्र बैंकको नेतृत्वलाई भनेका छौँ,’ उनले भने, ‘अब आउने मौद्रिक नीतिमा मार्जिनल्ली पोलिसी रेटमा सुधार गर्नुपर्ने आवश्यकता छ । मनिटरी पोलिसीका टुल्सहरू समयसापेक्ष प्रयोग हुन आवश्यक छ ।’

अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले दिशानिर्देश गर्दै आए पनि मौद्रिक नीति सञ्चालनको जिम्मा भने राष्ट्र बैंकलाई लगाएको उनले बताए । ‘सरकारका दिशानिर्देश कतिपय अवस्थामा कार्यान्वयन भएको छ, कतिपय अवस्थामा हुन बाँकी छ,’ मन्त्री डा. महतले भने, ‘यद्यपि, राष्ट्र बैंकले स्वायत्त रूपमा काम गरोस् र समग्र अर्थतन्त्रको परिवेश के छ र मौद्रिक नीतिले यसमा कसरी योगदान पुर्याउन सक्छ भन्ने कुरालाई मध्यनजर राखेर नीति आओस् भनेर नै राष्ट्र बैंकलाई एक तहको स्वायत्तता दिएको हो ।’

राष्ट्र बैंकबाट आउने मौद्रिक नीतिका बारेमा वेलाबखत सरकार र सरोकारवालाले प्रश्न उठाउने गरेको भन्दै उनले मौद्रिक नीति र वित्त नीतिबीच समन्वय हुनुपर्ने बताए । ‘दुवै नीतिको लक्ष्य एउटै लक्ष्य हुनुपर्छ । मौद्रिक नीति एउटा बाटोमा, वित्त नीति अर्को बाटोमा लियो भने यसले लक्षित उद्देश्य प्राप्त हुँदैन,’ उनले भने । बैंकमा तरलता हुँदाहुँदै पनि ब्याजदरका कारणले पुँजी प्रवाह हुन नसकेको उनले बताए ।

सुझावित समाचार