निजी क्षेत्रका छाता संगठनहरूले आरोप लागेकै आधारमा उद्यमी–व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने र पक्राउ गर्नेजस्ता कार्य नगर्न सरकारसँग आग्रह गरेका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै आरोपकै भरमा धरपकड गर्दा अर्थतन्त्रको संवाहक निजी क्षेत्र कमजोर हुने बताएका हुन् ।
निजी क्षेत्रले विज्ञप्ति जारी गर्दै उद्यम–व्यवसाय संकुचित हुँदा अर्थतन्त्रमा बहुआयामिक असर परेको औँल्याएको छ । देशका अर्थतन्त्रको प्रमुख संवाहक रहेका उद्यमी–व्यवसायीमाथि पछिल्लो समयमा भइरहेको धरपकडले लगानी थप निरुत्साहित हुने विज्ञप्तिमा उल्लेख छ ।
यस्ता कार्यले निजी क्षेत्रलाई कमजोर बनाउने मात्रै नभई समग्र मुलुकको आर्थिक विकासमा नकारात्मक असर पर्ने उनीहरूको भनाइ छ । यद्यपि, कानुनविपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागीदार हुने विज्ञप्तिमा उल्लेख छ । ‘देशको अथर्तन्त्रमा ८१ प्रतिशत हिस्सा रहेको निजी क्षेत्र अहिले समस्यामा छ । न्यून मागका कारण लगानी विस्तार हुन नसक्दा कुल गार्हस्थ्य उत्पादन अपेक्षितभन्दा ६ प्रतिशत विन्दु कम भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राजस्व संकलन गत वर्षभन्दा १३ प्रतिशतले घटेको छ । १० महिनायता मूल्य वृद्धिदर ७ प्रतिशतमाथि छ ।’
अदालतले दोषी ठहर नगर्दै कुनै पनि व्यवसायीलाई थुन्नेजस्ता कार्यबाट निजी क्षेत्र पनि त्रसित हुन पुगेको विज्ञप्तिमा उल्लेख छ । कुनै पनि विषयमा आरोप लागेपछि व्यवसायीलाई थुनिहाल्न नहुने निजी क्षेत्रको माग छ । समग्रमा राज्यले व्यवसायीका कुरा सुन्नुपर्ने विज्ञप्तिमा बताइएको छ ।
‘राज्यको यस्तो प्रवृत्तिले उद्यमी–व्यवसायीको मनोबल कमजोर भई हतोत्साही हुने तथा मुलुकको अर्थतन्त्र संकटमा रहेका वेला साना–ठूला व्यवसायी एवं उद्यमीप्रतिको यस्तो व्यवहारले नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन निजी क्षेत्र हार्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।