बुढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढ्ने संकेत

स्थापना भएको १० महिनापछि बुढीगण्डकीले पायो २२ करोड, लाइसेन्स लिन खर्च गरिने

सोमबार, २५ असार, २०८०
डिजिटल संस्करण

स्थापना भएको १० महिनापछि ‘बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड’ कम्पनीले सरकारबाट पैसा पाएको छ । सरकारले पैसा नदिँदा गत वर्षको १७ भदौमा स्थापना भएको कम्पनीले हालसम्म पनि कारोबार सुरु गर्न सकेको छैन । सरकारले कम्पनीलाई आफ्नो सेयर हिस्सामा मिलान गर्ने गरी २२ करोड उपलब्ध गराएसँगै कम्पनीले गति लिने भएको हो ।

कम्पनीको सञ्चालकसमेत रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनील पौडेलले सरकारबाट पाएको रकम आयोजनाको सर्भे लाइसेन्स लिने शीर्षकमा खर्च गरिने बताए । आयोजनाको सर्वेक्षण लाइसेन्स लिन करिब २० करोड खर्च हुने अनुमान छ । बाँकी रकम कम्पनी सञ्चालनका लागि छुट्याइनेछ ।

यद्यपि, कम्पनीको खातामा न्यूनतम एक करोड जम्मा भएको हुनुपर्छ । आगामी आवका लागि भने सरकारले यस आयोजनाका लागि एक अर्ब विनियोजन गरिसकेको छ । सरकारले कम्पनी मोडेलमा १२ सय मेगावाटको बुढीगण्डकी आयोजना बनाउने गरी कम्पनी स्थापना गरेको थियो । तर, आधिकारिक रूपमा यस कम्पनीअन्तर्गत आयोजना आइसकेको छैन । त्यसका लागि कम्पनीले प्रचलित व्यवस्थाअनुसार विद्युत् विकास विभागबाट लाइसेन्स लिनुपर्ने हुन्छ । त्यसका लागि छिट्टै आवेदन दिइने स्रोतको भनाइ छ । 

मन्त्रालयका अनुसार पहिलो चरणमा कारोबार सञ्चालन अनुमतिका लागि कम्पनी रजिस्ट्रारको कार्यालयमा आवेदन दिइनेछ । तर, परियोजना विकासको काम अघि बढाउन भने विद्युत् विकास विभागबाट लाइसेन्स लिनुपर्छ । त्यसका लागि सम्पूर्ण कागजपत्र तयार भएको कम्पनीका एक उच्च अधिकारीले बताए । साथै, असारभित्रै आयोजनास्थलमा कम्पनीको ‘साइट कार्यालय’ स्थापना गरेर प्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन गर्ने योजना छ ।  

कुल १६ अर्ब चुक्ता पुँजी हुने कम्पनीमा ऊर्जाको आठ अर्ब, अर्थको चार अर्ब ८० करोड र नेपाल विद्युत् प्राधिकरणको तीन अर्ब २० करोड रुपैयाँको संस्थापक सेयर हुनेछ । बाँकी चार अर्ब भने स्थानीय र सर्वसाधारणबाट उठाइनेछ । यद्यपि, अहिले प्राधिकरणको बढी सेयर हिस्सा हुने गरी कम्पनीको संरचना परिवर्तन गरिँदै छ । अहिले ऊर्जा र अर्थ मन्त्रालयको कति सेयर हुने टुंगो लागेको छैन । सोही सेयरमा मिलान हुने गरी अर्थ मन्त्रालयले रकम निकासी गरेको हो ।

अहिलेको व्यवस्थाअनुसार अर्थ मन्त्रालयले कम्पनीमा आफ्नो र ऊर्जाको सेयरबापत कुल १२ अर्ब ८० करोड रुपैयाँ दिनुपर्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणा गरेबमोजिम असारभित्रै आयोजनाको शिलान्यास नहुने पक्का भएको छ । प्रधानमन्त्री प्रचण्डले गत ११ असारमा धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटन गर्दै असारभित्रै आयोजनाको शिलान्यास गर्ने घोषणा गरेका थिए । 

 आयोजनास्थलमा निरीक्षण 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको उच्च नेतृत्वले शनिबार बुढीगण्डकी आयोजना निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । सम्भवतः आयोजना कार्यालयको उद्घाटन तयारीका लागि उक्त टोली आयोजनास्थल पुगेको बताइएको छ ।

टोलीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको सिद्धलेक गाउँपालिको सिमानामा पर्ने प्रस्ताव गरिएको बाँध निर्माणस्थल, सिद्धलेक गाउँपालिकाको सलाङमा विद्युत्गृह निर्माणस्थल, जलाशयबाट डुबानमा पर्ने आरुघाट क्षेत्र, आर्खेतलगायतका ठाउँहरूको निरीक्षण गरेको थियो । टोलीले आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण, मुआब्जा तथा क्षतिपूर्ति वितरणको हालसम्मको प्रगतिलगायतका विषयमा समेत जानकारी लिएको थियो । प्राधिकरणको नेतृत्व तथा अगुवाइमा आयोजना निर्माणका लागि कम्पनीको सेयर संरचना पुनर्संरचना गर्न छलफल भइरहेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

आयोजनाको अनुमानित लागत दुई अर्ब ५९ करोड अमेरिकी डलर रहेको छ । हालको मूल्यमा पुनरावलोकन गरिएको आयोजनाको अनुमानित लागत दुई अर्ब ७७ करोड डलर रहेको छ । आयोजनाको निर्माण अवधि आठ वर्ष रहेको छ । अब लगानी जुटाएर छिट्टै आयोजनाको निर्माण कार्य सुरु गर्ने बताइएको छ ।

आयोजनाको सबैभन्दा जटिल मानिएको जग्गा प्राप्तिको प्रगति करिब ९० प्रतिशत छ । जग्गाको मुआब्जा, संरचना, बोटबिरुवा तथा फलफूको क्षतिपूर्तिबापत जग्गाधनीलाई करिब ४२ अर्ब रुपैयाँ वितरण गरिएको छ । आयोजनाबाट भौतिक तथा आर्थिक रूपमा गोरखा र धादिङका आठ हजार एक सय १७ घरपरिवार प्रभावित हुनेछन् । यसमध्ये तीन हजार पाँच सय ६० घरपरिवार पूर्ण रूपमा विस्थापित हुनेछन् । 

गोरखा र धादिङ जिल्लाको सीमा भएर बग्ने बुढीगण्डकी नदी थुन्नका लागि दुई सय ६३ मिटर अग्लो कर्भेचरयुक्त आर्च बाँध बनाइनेछ । बाँध बाँधेपछि थुनिएको पानीको जलाशय माथिल्लो तटीय क्षेत्रमा ६३ वर्गकिलोमिटर फैलनेछ । जसबाट धादिङका साबिकका १४ गाविस (हाल ४ गाउँपालिका तथा १ नगरपालिका) र गोरखाका १३ गाविस (हाल ४ गाउँपालिका) प्रभावित हुनेछन् । आयोजनाको अधिकतम जलसतह पाँच सय ४० मिटरसम्म रहनेछ । आयोजनाबाट वार्षिक रूपमा तीन अर्ब ३८ करोड ३० लाख युनिट विद्युत् उत्पादन हुनेछ ।

सुझावित समाचार