प्रहरी महानिरीक्षकद्वारा दुईवर्षे कार्ययोजना सार्वजनिक

शनिबार, २३ असार, २०८०
डिजिटल संस्करण
प्रहरी महानिरीक्षकद्वारा दुईवर्षे कार्ययोजना सार्वजनिक

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा नयाँ कार्ययोजना सार्वजनिक आइजिपी वसन्तबहादुर कुँवर

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीको दुईवर्षे कार्ययोजना सार्वजनिक गरेका छन् । १३ वटा लक्ष्य राखेर बनाइएको कार्ययोजनामा आन्तरिक सुदृढीकरण प्रमुख छ । 

नीति तथा कानुनमा सुधार गर्ने, विशिष्टीकृत तथा वैज्ञानिक अनुसन्धान प्रणालीको विकास, प्रहरी सेवामा प्रविधिमैत्री प्रणाली विकास गर्ने, कल्याणकारी योजना विस्तार गर्ने, संघीय संरचनाअुनसार समायोजन गर्ने, प्रहरी इतिहासको संरक्षण र प्रवद्र्धन गर्नेलगायत उद्देश्य कार्ययोजनामा छन् ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा नयाँ कार्ययोजन सार्वजनिक गरिएको हो । यो कार्ययोजनाले प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढीकरण गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास र रूपान्तरण हुने महानिरीक्षक कुँवरको भनाइ छ । 

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक कुँवरले सुदृढीकरणका काम सुरु भइसकेको बताए । कुँवर आइजिपी भएपछि करिब साढे चार हजार प्रहरीलाई दरबन्दीमा खटाइएको छ । उनीहरू विगतमा पहुँचका आधारमा अनुकूल कार्यालयमा बस्दै आएका थिए । साथै, सरुवा प्रणालीलाई व्यवस्थित गरी अनिवार्य रूपमा फर्म फेर्नुपर्ने प्रणाली विकास गरिएको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले बताए । 

प्रहरी रूपान्तरणका लागि अहिले उपयुक्त समय भएकाले सबै मिलेर प्रहरीको सुदृढीकरणमा लागेको महानिरीक्षक कुँवरले बताए । प्रधानमन्त्री, गृहमन्त्रीलगायतको सहयोगले प्रहरी रूपान्तरणका लागि उपयुक्त वातावरण सिर्जना भएको बताएका हुन् ।

सुझावित समाचार