शिव शिखर सहकारी रहेको बुटवलको भवन खाली गराइयो, सामान सिल

शुक्रबार, २२ असार, २०८०
डिजिटल संस्करण

बुटवल उपमहानगरपालिका– १० स्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तथा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोरको सामान सिल गरिएको छ । 

सहकारी रहेको भवन खाली गराउन घरधनीले दिएको निवेदनका आधारमा बुटवल उपमहानगरपालिकासहित सरोकारवाला निकायका प्रतिनिधिसहितको उपस्थितिमा शुक्रबार भवन खाली गराइएको हो । 

भवनमा रहेका सहकारीका सबै कागजातसहित सामान सिल गरेर सोही भवनको अन्डरग्राउन्डमा रहेका संरचनामा राखिएको छ । बुटवल– १० सिद्धार्थ राजमार्गको किनारमा रहेको भवनमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तथा  गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर १७ साउन ०७८ देखि सञ्चालनमा रहेको थियो । 

गत ६ फागुनमा सहकारी बन्द भएपछि घरधनीले ८ चैतमा घर खाली गराउन भनी वडा कार्यालयमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा वडाले सुरुमा ३५ दिने सूचना जारी गरेको थियो । 

सो अवधिमा सहकारीका व्यक्तिहरू सम्पर्कमा नआएपछि सातदिने तथा तीनदिने सूचना जारी गरेको थियो । ती सबै प्रक्रिया पूरा गरेपछि भवन खाली गराइएको वडाध्यक्ष अध्यक्ष बलबहादुर पुनले बताए । 

बुटवल उपमहानगरपालिकासहित विभिन्न १८–१९ वटा निकायका प्रतिनिधिको उपस्थितिमा भवन खाली गराइएको पुनले बताए । सहकारीको बुटवल शाखामा बचतकर्ताको करिब १० करोड रहेको अनुमान छ । यहाँको शाखामा दुई हजार दुई सयजनाको बचत रहेको अनुमान गरिएको हो । 

सहकारी संकटमा परेदेखि बचतकर्ताले रकम फिर्ताको माग गर्दै आए पनि फिर्ता पाउन नसकेका अवस्थामा शुक्रबार सहकारी रहेको भवन खाली गराउन लाग्दा केही पीडित आएका थिए । वडाध्यक्ष पुनका अनुसार ती पीडितले आफूहरूको रकम पाउनुपर्ने बताएका थिए । 

वडाध्यक्ष पुनसहितको टोलीले सहकारी सामान सिफ्ट गरेर सुरक्षित राखिदिने बताएपछि पीडितहरू त्यहाँबाट फर्केका थिए । सहकारीपीडित कति छन् भन्ने यकिन तथ्यांक नगरपालिकामा छैन । 

यता, घरधनी ईश्वर मल्लले सहकारीले घरभाडाबापतको सात महिनाको भाडा तिर्न बाँकी रहेको बताए । भाडा २८ लाख, पानी–बिजुलीको करिब सात लाख सहकारीले तिर्न बाँकी छ । घरधनीले सहकारीमा आफ्नो फिक्स डिपोजिट ३७ लाखसमेत रहेको बताए । 

भाडा र डिपोजिटसहित ७० लाख रुपैयाँ लिनुपर्ने अवस्था रहेको उनले बताए । सहकारीको बुटवल शाखा गत फागुनदेखि बन्द रहेको छ । शाखाले केही महिनाअघि तयार पारेको तथ्यांकमा साढे १४ करोड बचत रहेको देखिएको थियो । 

सुझावित समाचार