२४ करोडभन्दा बढी ठगी गरेर सुनचाँदी व्यवसायी फरार

शुक्रबार, २२ असार, २०८०
डिजिटल संस्करण
२४ करोडभन्दा बढी ठगी गरेर सुनचाँदी व्यवसायी फरार

सोमराज विश्वकर्मा

गौरादह– १ का वडाध्यक्षको नाममा पत्र लेखेर सम्पर्कविहीन सोमराज विश्वकर्माविरुद्ध वडा कार्यालयमा ४३७ उजुरी

झापाको गौरादह नगरपालिका– १ का सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मा २४ करोडभन्दा बढी रकम ठगेर फरार भएका छन् । गौरादह बजारमा दुई दशकदेखि सुनचाँदी व्यवसाय गर्दै आएका विश्वकर्मा गौरादह– १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको नाममा पत्र लेखेर एक सातादेखि फरार भएका हुन् । 

बिहीबारसम्ममा उनीबाट ठगिएका चार सय ३७ जनाले करिब २४ करोडभन्दा बढी ठगेको दाबी गरेर वडा कार्यालयमा निवेदन दिएको वडाध्यक्ष भण्डारीले जानकारी दिए । ‘हस्ताक्षरविनाको पत्र लेखेर मलाई म्यासेन्जरमा पठाइदिएका छन् । त्यसपछि उनी सम्पर्कमा छैनन् । ती व्यक्तिले पत्रमा मैले मेरो परिवार र सबै जायजेथा छाडेर हिँडेको छु । वाणिज्य संघसँग बसेर वडाध्यक्षले हिसाब मिलाइदिनू भनेर लेखेका छन् । तर, उनको हस्ताक्षर छैन,’ वडाध्यक्ष भण्डारीले नयाँ पत्रिकासँग भने, ‘सुरुमा त थोरै होला भन्ने ठानेका थियौँ । अहिलेसम्म २४ करोडहाराहारीको दाबीसहित निवेदन परेको छ । ५० हजारदेखि ४० लाखसम्म ठगिएका व्यक्तिले निवेदन दिएका छन् ।’ 

शिवराम पोखरेल, प्रमुख जिल्ला अधिकारी, झापा
सोमराजको खोजी भइरहेको छ । न्यायिक समितिलाई सोमराजको नाममा रहेको सम्पत्ति तत्काल रोक्का गर्न प्रक्रिया अघि बढाउन पनि आग्रह गरेका छौँ ।

सोमराजले कोरोनाका कारण लकडाउन हुँदा र अहिलेको आर्थिक संकटका कारण व्यवसाय गर्नै नसक्ने गरी डुबेको वडाध्यक्ष भण्डारीलाई लेखेको पत्रमा उल्लेख गरेका छन् । उनले धेरै साहुलाई साँवाभन्दा ब्याज बढी तिरेको पत्रमा लेखेका छन् । यो पत्रले उनले साहुलाई धेरै ब्याजको आशा देखाएर ऋण लिएको पुष्टि हुन्छ । 

१४ असारदेखि सोमराज परिवारको समेत सम्पर्कमा नरहेको वडाध्यक्ष भण्डारीले बताए । उनले महँगो ब्याजको लोभ देखाउँदै स्थानीयसँग रकम ऋणमा लिएका थिए । लिएको ऋण तिर्न नसकेपछि उनी पत्र लेखेर फरार भएका हुन् । ‘कतिपयको सापटी लिएका रहेछन् । कतिपयलाई सहकारी र बैंकको भन्दा राम्रो ब्याज दिन्छु भनेर पैसा लिएको हुन सक्छ,’ वडाध्यक्ष भण्डारीले भने, ‘अहिले वडामा निवेदनको चाङ छ । हामीलाई यो विषयले अनावश्यक तनाव दिएको छ ।’ 

फरार भएपछि प्रहरीलाई सोमराजको खोजी गर्न वडाले पत्र लेखेको उनले बताए । ‘हामी वडामा निवेदन पनि लिइरहेका छौँ । हामीले प्रहरीलाई पनि निवेदन दिएका छौँ । प्रहरीले उनको खोजी गरिरहेको छ,’ भण्डारीले भने, ‘प्रशासनलाई हामीले त्यो व्यक्ति बाहिर जान नपाओस् भनेर निगरानी गर्न आग्रह पनि गरिरहेका छौँ ।’

विगतदेखि नै राम्रो कारोबार भएकाले उनलाई विश्वास गरेर पैसा दिएको सोमराजबाट ठगिएका रामबहादुर रोका बताउँछन् । ‘पहिलादेखि नै हाम्रो लेनदेन हुँदै आएको थियो । पहिला राम्रो कारोबार गरेका कारण र अहिले अप्ठ्यारो परेको भनेपछि मैले पनि पैसा दिएँ । डेढ वर्षअघि केही महिनाको भाका राखेर दिएको थिएँ । अहिलेसम्म पाइनँ,’ उनले भने, ‘भाकामा पैसा दिन नसकेपछि काठमाडौंको जग्गा बेचेर दिन्छु भन्थे । भाका सार्दै २० असारसम्म पु¥याएका थिए । बीचमा एकपटक कुरा भएको थियो । धनकुटा छु भने । पैसा फिर्ता पाइन्छ भन्ने आसामा बसेको त फरार भएको पो जानकारी पाइयो ।’ सोमराजविरुद्ध वडामा निवेदन दिएका उनले कति रकम ऋण दिएको हो भन्ने खुलाउन चाहेनन् । 

सोमराजले सामाजिक सुरक्षा भत्ता थापेका वृद्धवृद्धाको पैसा पनि ठगी गरेको पाइएको गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जितबहादुर कार्कीले बताए । ‘अहिले गौरादहको अवस्था कहालीलाग्दो छ । २४ करोडको दाबीसहित निवेदन पेस भएको छ,’ उनले भने, ‘अझै बढ्न सक्ने देखिन्छ । वृद्धभत्ता लिएर राखेको पैसासमेत ठगेका रहेछन् ।’ 

ठगी गरेको यति ठूलो रकम कहाँ गयो र कहाँ लगानी भयो भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको उनले बताए । ‘यत्रो रकम ठगेर सम्पत्ति जोडे भनौँ भने त्यो पनि देखिँदैन । आर्थिक अवस्था सामान्य नै देखियो । यद्यपि अरूको नाममा राखेका छन् कि प्रहरीले छानबिन गर्ला,’ उनले भने, ‘यत्रो पैसा कहाँ गयो ? कहाँ लगानी भयो ? हामीले गौरादहमा सर्वदलीय बैठक बसेर छानबिन समिति पनि बनाएका छौँ । पीडितले न्याय पाउनुपर्छ । हामी यसमा सचेत छौँ ।’ 

पीडितले दिएको निवेदनका आधारमा गौरादह नगरपालिकाको न्यायिक समितिले पनि प्रक्रिया अघि बढाउने भएको छ । न्यायिक समिति संयोजक तथा उपप्रमुख जलवर्षा राजवंशीले सर्वदलीय बैठक पनि बसेको र शुक्रबार न्यायिक समितिको बैठक बसेर प्रक्रिया अघि बढ्ने बताइन् । 
 

See More On

सुझावित समाचार