समुद्री वैज्ञानिकले कोस्टारिकाको तटनजिक प्रशान्त महासागरको सतहभन्दा झन्डै दुई माइलमुनि पहिला पत्ता नलागेको अक्टोपस नर्सरी (प्राकृतिक प्रजननस्थल) फेला पारेका छन् । हफिङ्टन पोस्टका अनुसार यो महत्वपूर्ण खोजले वरपरका क्षेत्रमा उच्च सुरक्षा कार्यमा सहयोग गर्नेछ । यसै महिनाको सुरुमा २० जना वैज्ञानिकहरूको एउटा टोलीले तीन हप्ताको खोज अभियानका क्रममा समुद्रमुनिको अँध्यारो क्षेत्रमा सो नर्सरी फेला पारेको हो ।
यो खोज कति महत्वपूर्ण छ भनेर वर्णन गर्दै स्मिट ओसन इन्स्टिच्युटका कार्यकारी निर्देशक डा. ज्योतिका विरमानीले एक विज्ञप्तिमा भनेका छन्, ‘कोस्टारिकाको पानीमा समुद्र सतहभन्दा २८ सय मिटरमुनि फेला परेको नयाँ सक्रिय अक्टोपस नर्सरीले महासागरबारे जान्न अझै धेरै बाँकी रहेको प्रमाणित गर्छ ।’ वैज्ञानिकहरूको समूहले इन्स्टिच्युटको आफ्नै अनुसन्धान जहाज फाल्करमा ‘महासागर अभियान’ सुरु गरेको थियो ।
समुद्री यात्राका क्रममा वैज्ञानिकहरूले डोराडो आउटक्रप (समुद्री सतहमा खास किसिमले बनेको चट्टान, जहाँ सन् २०१३ मा आमा अक्टोपसहरू आफ्ना अन्डा कोरल्न भेला भएका देखिन्थे) को खोजी गरे । यस्तो अनौठो घटना अनुसन्धानकर्ताले पहिले कहिल्यै नदेखेको हफिंगटन पोस्टले उल्लेख गरेको छ । तर, त्यतिवेला कोरलियका शिशु अक्टोपसहरू बाँच्न संक्षम रह्यो वा रहेन भन्नेबारे प्रस्ट थिएन । ‘समुद्री अक्टोपसहरू चिसो तापक्रम रुचाउँछन् । तर, एक हाइड्रोथर्मल भेन्टसँग उक्त चट्टान जोडिएकाले वरपरको क्षेत्रको तुलनामा त्यहाँको पानी केही तातो छ,’ जिजमोडोको रिपोर्टमा भनिएको छ, ‘पछिल्लो अभियानमा वैज्ञानिकहरूले डोराडो आउटक्रप वास्तवमै सक्रिय नर्सरी भएको र उनीहरूले अक्टोपसले बच्चा कोरलेको देखे ।’
कोस्टारिका नजिकको समुद्र सतहभन्दा २८ सय मिटरमुनि फेला परेको नयाँ सक्रिय अक्टोपस नर्सरीले महासागरबारे जान्न अझै धेरै बाँकी रहेको प्रमाणित गर्छ
उनीहरूले त्यसै क्षेत्रमा पहिले कहिल्यै थाहा नभएको एउटा अज्ञात नर्सरीको महत्वपूर्ण खोज गरेका छन् ।क्यालिफोर्नियाको मोन्टेरे तटमा रहेको नर्सरीसँगै हालसम्म कुल थाहा भएका अक्टोपस नर्सरीको संख्या तीन पुगेको छ । अभियानका क्रममा भएका खोजप्रति आफ्नो प्रतिक्रियालाई उत्साहपूर्व वर्णन गर्दै क्यानडास्थित युनिभर्सिटी अफ क्यालगरीकी जियोसाइन्स प्राध्यापक डा. राचेल लाउरले भनिन्, ‘म त एक हात उफ्रिएकी थिएँ ।’
कोस्टारिकानजिकैको नर्सरीहरूमा पाइने अक्टोपसहरू म्युसोक्टोपस वंशजका हुन् । यी मध्यम आकारको गहिरो समुद्री अक्टोपस हुन्, जसमा मसीको थैली हुँदैन । अवलोकन गरिएका यी अक्टोपस म्युसोक्टोपसको नयाँ प्रजाति हुन सक्ने अनुमान गरिएको छ, तर यकिन भने भएको छैन ।
यस अनुसन्धानले नर्सरीहरू रहेको क्षेत्रमा समुद्री पहाडहरूलाई मानव गतिविधिबाट सुरक्षित राख्न सुझाब दिन्छ । हाल उक्त ठाउँमा कुनै विशेष सुरक्षा प्रबन्ध छैन । युनिभर्सिडेड डे कोस्टारिकाका जीवविज्ञानका प्राध्यापक डा. जर्ज कोर्टेस नुनेजले गहिरो समुद्रको अनौठो प्रकृतिबारे अभिव्यक्त गर्दै भने, ‘बहुसंख्यक मानिसहरूका लागि महासागर पानीको अर्को स्वरूप मात्र हो । त्यहाँ के छ भनेर उनीहरूले कल्पना नै गर्न सक्दैनन् । हामीभन्दा तीन किलोमिटर तल समुद्री पिँध छ र त्यहाँ पूरै अर्काे संसार छ ।’