प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ।
बुधबार राष्ट्रिय सभा बैठक सुरु हुनेबित्तिकै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन्।
उनले आफूहरूको सो माग पूरा नभई संसद् बैठक चल्न नदिने अडान राखे । नेता दाहालले प्रधानमन्त्री दाहालले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले भारतको इसारामा बनेको प्रधानमन्त्री आफ्नो पार्टीलाई स्वीकार्य नहुने पटकपटक दोहोर्याए।
उनले प्रधानमन्त्री प्रचण्ड स्वयंले आफू भारतको इसारामा, भारतीय नागरिक सिंहको पहलमा प्रधानमन्त्री भएको अभिव्यक्ति दिनु लज्जाको विषय भएको पनि बताए। एमालेका सांसदहरूले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक अपराह्न ३ बजेर १ मिनेटमा बस्ने गरी स्थगित गरिएको छ।