भ्रष्टाचारविरुद्धकाे लडाइँमा सतिसालझैँ उभिन्छु : प्रधानमन्त्री

बुधबार, २० असार, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैँ उभिने बताएका छन्।  

बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको संकल्पबाट भ्रष्टहरू तर्सिएको बताएका हुन्। 

उनले भने, ‘सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु। भ्रष्टहरूमाथि कारबाही सुरु भएको छ। ललितानिवासको फाइल फेरि खोलिएको छ। यो प्रक्रिया रोकिन्न, हेर्दै जानुहोला, थप फाइलहरू खोलिन्छ र कारबाही गरिन्छ।’

‘२०६४ को निर्वाचनमा हामीले राम्रो परिणाम ल्यायौँ। तर, पार्टी एकताबद्ध हुन सकेन, टुटफुट र विभाजनले आन्दोलन कमजोर भयो,’ उनले भने, ‘फेरि एउटा नयाँ परिस्थिति बनेको छ।  माओवादी शक्तिहरूबीच एकताको राम्रो आधार बन्दै छ। पार्टी एकता संयोजन समिति बनाइन्छ र बृहत् एकतासहित अगाडि बढिन्छ।’

०८४ को निर्वाचनमा ०६४ भन्दा शक्तिशाली हुने गरी परिणाम दिने दाबी गर्दै उनले भने, ‘इतिहासको तागतको बलमा हामी सरकारमा छौँ, कतिलाई यो कुरा पचिरहेको छैन। भ्रष्टाचारविरोधी अभियानपछि भ्रष्टहरू विक्षिप्त छन्,  हैरान र परिसान छन्। तर, हामी देश र जनताको पक्षमा लागिरहन्छौँ। सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सम्पूर्ण रूपले समर्पित हुन्छौँ। सरकार असफल पार्ने, कुप्रचार गर्ने षड्यन्त्रहरू छन्। तर, तिनीहरूलाई जनताले नै ठीक पार्छन्।’  

सुझावित समाचार