पुस्तक विमोचनको अभिव्यक्तिलाई लिएर बबन्डर मच्चाउन खोजियो : प्रधानमन्त्री

बुधबार, २० असार, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक विमोचनमा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर बबन्डर मच्चाउन खोजिएको आरोप लगाएका छन्। 

बुधबार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले सोमबार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’ (द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल)को विमोचन कार्यक्रममा प्रितम सिंहले बोलेको कुरा आफूले बोलेको भए पनि त्यसमाथि नै बबन्डर मच्चाउन खोजिएको बताएका हुन्। 

उनले आफूले पुस्तक विमोचन कार्यक्रममा सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै नभई राजनीतिमा पनि चासो राख्ने व्यक्ति भएको र आफूलाई प्रधानमन्त्री बनाउनका लागि कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो भन्ने अभिव्यक्ति दिएको बताए। 

प्रधानमन्त्री प्रचण्डले बेलुनरूपी बबन्डर चाँडै फुट्ने पनि स्पष्ट पारे। उनले यस कुराले विपक्षीमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ भन्ने कुरा प्रमाणित गर्ने दाबी गरे।  

उनले भने, ‘अब आज म सुन्दै छु, एउटा किताब विमोचन गर्दै गर्दा मैले बोलेको, उसले बोलेको कुरा मैले बोलेको, मेरो कुरा होइन। उसले बोलेको मैले भने, उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै होइन, राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ। उहाँ मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ, कहिले कहाँ पुग्नुहुन्छ, कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो उहाँ भन्ने उहाँबारे भनेको कुरालाई अब त्यसलाई उचालेर फेरि एकपटक बबन्डर गर्न खोजिएको छ, त्यो बेलुन पनि छिट्टै फुट्नेवाला नै छ। त्यसले केही दिनेवाला छैन। हाम्रा विपक्षीमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ भन्नेकुरा देखिन्छ।’

उनले चाँडै नै माओवादीहरू एउटै केन्द्रमा आउने र सबै संगठन एउटै केन्द्रमा आएर नयाँ समाजवादी आन्दोलन सुरु गर्ने दाबी गरे। प्रधानमन्त्री प्रचण्डले जनताका मुद्दा बोकेर हिँड्दा सरकारबाट कसैले हल्लाउन नसक्ने बताए। 
 

सुझावित समाचार