अर्घाखाँचीमा सोमबार रातिदेखि नै भारी वर्षा भइरहेको थियो । पाणिनी गाउँपालिका– १ पणेनाको गोवनपानीकी ७५ वर्षीया गंगा रास्कोटी मंगलबार भालेको डाँकसँगै बिउझिइन् । सदाझैँ चिया बसाल्न दाउरा लिन घरबाहिर निस्किन् । उनीसँगै बिउझिएका कान्छो छोरो र नातिनी पनि घरबाहिर निस्किए ।
बिहानको साढे ६ बज्न लागेको थियो । एकाएक गड्याङगुडुङ आवाजसँगै माथिबाट आएको लेदो घरभित्र पस्यो । घरभित्र सुतिरहेका गंगाका चार नातिनातिना पुरिए । दुई बालक र एक बालिकाको घटनास्थलमै ज्यान गयो, एक बालकको घाइते अवस्थामा उद्धार भयो । उनको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।
मानिस आवजावत गर्ने गोरेटो बाटोसँगै रहेको बारीको पाटो लेदो बनेर घरभित्र पसेको स्थानीय शिक्षक पुस्करराज पोख्रेलले जानकारी दिए । ‘घटना भएको घरनजिक अन्य घर पनि छन्, तर बस्तीमा मानिसहरू बसाइ सरेर अन्यत्र गइसकेकाले त्यहाँ आरु कोही थिएनन् । जसका कारण तत्कालै उद्धार गर्न सकिएन । नजिकैको स्थानबाट त्यहाँ पुग्न पनि कम्तीमा २० मिनेट लाग्यो,’ उनले भने । आफूहरू घरबाहिर रहेका वेला घरभित्र पहिरो पसेपछि अन्य सदस्यले हारगुहार गरेका थिए ।
स्थानीय पुग्दा एकजना बालक खाटमुनि आधा भाग पुरिएको अवस्थामा भेटिएका थिए । उनलाई त्यहाँबाट निकाल्न आधा घण्टा लागेको थियो । पहिरो पन्छाउँदै जाँदा अरु दुई बालक र एक बालिका मृत अवस्थामा भेटिएका थिए । १० वर्षीय धनबहादुर, १२ वर्षीय खुमबहादुर र ११ वर्षीया अन्जना रास्कोटी मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले जानकारी दिए । घाइते सचिनको स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि पाल्पा रिफर गरिएको छ ।
गोवनपानी गाउँ शोकमा
बिहान झिसमिस नहुँदै तीन बालबालिकाको ज्यान जाने गरी गएको घटनाले सिंगो गाउँ शोकमा डुबेको छ । गाउँबासीले मंगलबारको बिहानलाई कालोदिन ठानेका छन् । ‘उक्त घरमा सातजनाको संयुक्त परिवार थियो । एकतले घरमा सबैजना एउटै कोठामा सुतेका रहेछन् । बिहानै बाहिर निस्किएका तीनजना जोगिए, अरु तीनजनाको ज्यान गयो । सिंगै गाउँका लागि यो कालोबिहान बन्यो,’ शिक्षक पोख्रेलले भने ।
७५ वर्षीया गंगाका तीन छोरा छन् । जेठो र माइलो छोरा तथा बुहारी रोजगारीको शिलसिलामा भारतमा छन् । कान्छा छोरा–बुहारी पनि भारतमै बस्थे । एक साताअघि मात्र उनीहरू उपचारका लागि घर फर्किएका हुन् । कान्छीबुहारी माइत गएकी हुनाले घटना हुँदा घरमा थिइनन् । पाँचजना नातिनातिना हजुरआमासँगै बस्ने गरेका थिए । तिनैमध्ये तीनजनाले ज्यान गुमाए ।
घटनापश्चात पीडित परिवार छिमेकीको घरमा आश्रय लिन बाध्य भएको छ । घटनापछि जिल्ला विपत् व्यवस्थापन समितीका संयोजक कमलराज ढकालसहित सुरक्षा निकायको टोलीले घटनास्थलपुगेर पीडित परिवारलाई नगद २० हजार रुपैयाँ, दुईवटा त्रिपाल र अन्य बन्दोबस्तीका सामग्री हस्तान्तरण गरेको छ । केहीबेरअघिसम्म काखैमा रहेका नातिनातिना गुमाउनु पर्दा जीवनको उत्तरार्धमा रहेकी वृद्ध गंगा विच्छिप्त छिन् । उनका आँखा ओभाएका छैनन् ।