ललितपुर र काठमाडौं महानगरका सडक गमलाका फूलले ढकमक्क बनाइँदै

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण

केही दिनयता काठमाडौं महानगरको बिजुलीबजार, बागबजार, वसन्तपुर दरबार क्षेत्रलगायतका सडक–किनारमा रातो रङ लगाएका सुन्दर गमला यत्रतत्र देख्न थालिएको छ । गमला मात्र होइन, यसमा विभिन्न किसिमका फूल पनि ढकमक्क फुलेका छन् । जसले काठमाडौंका सडक–किनार, फुटपाथ आकर्षक र सुन्दर देखिएका छन् । 

काठमाडौं महानगरका अनुसार सहरी सौन्दर्य प्रवर्द्धन गर्नका लागि ती ठाउँहरूमा अघिल्लो शनिबारदेखि गमला राखी फूल फुलाउन थालिएको हो । ‘सहरी सौन्दर्य प्र्रवद्र्धनका लागि फूल रोप्न थालेका हौँ,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘महानगरभित्रका खाली ठाउँ, ठूला ठाउँ र वातावरणलाई टेवा दिनुपर्ने ठाउँ हेरेर फूल रोप्ने र फुलाउने काम गरिरहेका छौँ ।’ उनका अनुसार ती ठाउँको प्रवर्द्धन र हेरचाह महानगरअन्तर्गत उद्यान तथा हरियाली आयोजनाले गर्नेछ । 

काठमाडौं महानगरका मेयर साह (बालेन)ले हरियाली प्रवर्द्धनका लागि गत वर्ष उक्त आयोजना खडा गरेका थिए । आयोजनामा करारसहित एक सय ५० कर्मचारी छन् । महानगरका अनुसार आवश्यकता हेरेर फूल रोप्ने र सहरी सौन्दर्यतालाई प्राथमिकतामा दिइनेछ । महानगरको २८ नम्बर वडाअन्तर्गत बागबजार क्षेत्रमा करिब एक सयवटा गमलामा फूल रोपेर अभियान सुरु भएको हो । 

ललितपुरका सडक एक वर्षअघिदेखि नै ढकमक्क
काठमाडौं महानगरले हालै मात्रै सहरी सौन्दर्य प्रवर्द्धन गर्न थाले पनि ललितपुर महानगरले भने एक वर्षअघि नै यसलाई नियमितता दिइरहेको छ । महानगरको जावलाखेलका दुई ठाउँमा पार्किङ हटाएर गमला राख्ने काम सफल भएपछि अन्य सात ठाउँमा गमलामा फूल रोपेर सहरी सौन्दर्यतालाई बढावा दिइरहेको छ । 

हाल महानगरले जावलाखेलमा दुई ठाउँ, लगनखेल (बटुक भैरव), पुल्चोक (दमकल चोक) दायाँबायाँ दुई ठाउँ, मंगलबजार, सेन्ट सेभियर्स स्कुलआसपास गमलामा फूल रोपेर सहरी सौन्दर्यता प्रवर्द्धन गरिरहेको छ । ती ठाउँमा टहलिन र आराम गर्नका लागि बेन्चको समेत व्यवस्था गरेको छ । 

ललितपुरको महानगरीय प्रहरी बल प्रमुख सीताराम हाछेथूका अनुसार जावलाखेलमा गमलामा फूल रोपेर राख्ने काम सफल भएपछि अन्य ठाउँमा पनि विस्तार गरिएको हो । ‘मेयरसाबको निर्देशनअनुसार विभिन्न व्यक्ति तथा संस्थाले अकुपाई गरेको ठाउँ, निर्माण सामग्री राखिएका ठाउँ, गाडी र मोटरसाइकल पार्क गर्ने गरिएको ठाउँ, घरका विभिन्न सामान राख्ने ठाउँमा यस्तो गरिएको हो । पर्यटक धेरै आउने, मन्दिरमा आउने दर्शनार्थीको सुविधालाई हेरेर गमलामा फूल रोपेर सौन्दर्यकरण गर्ने काम भइरहेको छ ।’ नगर प्रमुख हाछेथूले भने, ‘हामीले गमलामा फूल रोपेर राख्ने मात्र होइन, ती ठाउँमा बेन्च पनि राखेका छौँ । केहीबेर आराम गर्न पनि मिल्छ । अहिले धेरै ठाउँमा कसैलाई कुर्नुपरे होटेलभित्रै बस्नुपर्ने अवस्था छ । त्यसैले बेन्चहरू पनि राखेका हौैँ ।’उनका अनुसार ती ठाउँलाई भूकम्पजस्ता प्राकृतिक विपद्का वेला प्रयोग मिल्नेसमेत बनाइएको छ । ‘विपद् आएमा बस्न पनि मिल्ने भयो । अस्थायी रूपमा राखिएका गमला, बेन्च सारेमा ती ठाउँ प्रयोग गर्न सकिने भयो । यी ठाउँले सुरक्षा दिने भयो । आँखाका लागि राम्रो भयो । वातावरणीय दृष्टिले राम्रो भयो । पुल्चोक, जावालखेलजस्ता रातो मत्स्येन्द्रनाथको रथयात्रका वेला प्रयोग गरिने ठाउँ सुन्दर हुँदा विदेशमा पनि राम्रो सन्देश जाने भयो,’ उनले भने । 

सात ठाउँमा एक सय २० वटा ठूला गमला
ललितपुर महानगरले गमलाका फूलमा हिउँदमा एक दिन बिराएर पानी हाल्ने गरेको छ । अन्य काम भने महानगरअन्तर्गत वातावरण शाखाले गर्दै आएको छ । महानगरका अनुसार विभिन्न ठाउँमा ७० वटा बेन्चसमेत राखिएको छ । ‘सुरुमा गमला राख्दा गाडी, मोटरसाइकल पार्क गर्न बानी परेकाहरू आएका थिए । तर, ती ठाउँ सुन्दर र राम्रो देखिन थालेपछि आउन छाडेका छन्,’ नगर प्रहरी प्रमुख हाछेथूले भने, ‘हामीले सुरु गरेको यो काम सफल हुँदै गइरहेको छ । अन्य ठाउँमा पनि विस्तार गर्ने तयारीमा छौँ । विभिन्न ठाउँबाट माग पनि आइरहेको छ ।’ काठमाडौं महानगरले सिमेन्टबाट बनेका गमलाहरूमा फूल रोपे पनि ललितपुरले प्लास्टिकको गमला प्रयोग गरेको छ । महानगरका अनुसार टिकाउ सुरक्षाका हिसाबले प्लास्टिकको गमला राखिएको हो । अहिलेसम्म गमला फुट्ने, बिरुवा हराउनेलगायत समस्या छैन ।

See More On

सुझावित समाचार