महानगर विश्व संघको सञ्चालक समिति सदस्यमा मेयर बालेन निर्वाचित

सोमबार, १८ असार, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) महानगर विश्व संघ (वल्र्ड एसोसिएसन अफ द मेजर मेट्रोपोलिस)को सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् । संघका महासचिव जोडी वाकरले साहलाई पत्र पठाउँदै सन् ०२४ देखि ०२६ सम्मको कार्यकालका लागि निर्वाचित भएको जानकारी दिएका हुन् । कार्यकाल सन् २०२४ जनवरीबाट सुरु हुनेछ । 

सञ्चालक समिति संघको प्रमुख व्यवस्थापकीय अंग हो । सदस्यहरूको महासभाले तोकेको दिशानिर्देश पूरा गर्नु यसको मुख्य जिम्मेवारी हुन्छ । रणनीतिक अभिमुखीकरणको विकास र महानगरका लक्ष्यको विकास तथा उपलब्धिका लागि आवश्यक निर्णय गर्नु यसको काम हो । 

ठूला सहरी समूहको यो संघले सरकारहरूलाई भेला गरेर महानगरको दिगो र समान विकास तथा उत्थानशील समाज रूपान्तरणका लागि रणनीतिक योजना तर्जुमा गर्छ । यसले महानगरीय प्रशासनसँग विश्वव्यापी विज्ञता, स्थानीय र विश्वव्यापी मुद्दालाई बृहत् दायरामा जोड्छ । अनुभवहरू साटासाटको अवसर उपलब्ध गराउँछ । यसका एक सय ४० भन्दा धेरै ठूला महानगरपालिका सदस्य छन् । दक्षिण एसियाली मुलुकका ८० वटा सहर यसका सदस्य हुन् । ल्याटिन अमेरिका र क्यारेबियन मुलुकबाट २० वटा, उत्तर अमेरिकाका सातवटा, यरोपका १८ वटा र अफ्रिकाका २५ वटा सहर सदस्य छन् ।

सुझावित समाचार