ललितानिवास क्षेत्रमा रहेको १४३ रोपनी जग्गामा काँडेतार लगाउँदै महानगर

अस्थायी संरचना हटाउन २४ घन्टे अल्टिमेटम

सोमबार, १८ असार, २०८०
डिजिटल संस्करण
ललितानिवास क्षेत्रमा रहेको १४३ रोपनी जग्गामा काँडेतार लगाउँदै महानगर

तस्बिर : संजित परियार/नयाँ पत्रिका

काठमाडौं महानगरपालिकाले ललितानिवास क्षेत्रमा रहेको करिब एक सय ४३ रोपनी जग्गामा तारबार लगाउने भएको छ । बालुवाटारस्थित एनआरएनको भवनदेखि पश्चिम–उत्तरतर्फ रहेका हजारौँ कित्ताको जग्गा संरक्षण गर्न भन्दै महानगरले तारबारको तयारी गरेको हो । 

आइतबार महानगरपालिकाअन्तर्गतको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा महानगरको नगर प्रहरी त्यस क्षेत्रमा पुगेको थियो । काँडेतार लगाउने तयारीसहित गएको नगर प्रहरीले कतिपय ठाउँमा व्यक्तिले घरटहरा बनाएर बसेकाले त्यसलाई हटाउन निर्देशन दिएको छ ।

पाण्डेका अनुसार खाली सरकारी जग्गामा नयाँ संरचना निर्माण नहोस् भनेर काँडेतार लगाउने तयारी गरिएको हो । ‘सरकारी जग्गामा बनेका पुराना अस्थायी संरचना हटाउन निर्देशन दिएका छौँ । त्यहाँ करिब १० वटा टहरा बनेका रहेछन् । जग्गा हजारौँ कित्तामा टुक्रिएका रहेछ,’ उनले  भने, ‘कतिपय कित्ता रोक्का अवस्थामा छन् । यसमा सरकारी र व्यक्तिगत कति छन् भनेर छुट्याउँदै छौँ । त्यसलगत्तै तारबार लगाएर सरकारी जग्गा संरक्षण गर्छौँ ।’ 

उनले सरकारी र व्यक्तिगत जग्गा यकिन गर्न नापी तथा मालपोत कार्यालयसँग नक्सा विवरण पनि माग गरिएको बताए । सार्वजनिक जग्गा पहिचान गरी एक–दुई दिनभित्र तारबार लगाउने तयारी गरिएको नगर प्रहरी प्रमुख पाण्डेले बताए । महानगरले ललितानिवास क्षेत्रमा बनेका अवैध र अस्थायी संरचना हटाउन निर्देशन दिएको छ ।

महानगरले २४ घन्टे मौखिक अल्टिमेटम दिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । ‘ललितानिवास क्षेत्रको केही जग्गामा अस्थायी संरचना खडा गरेर बस्ने पनि रहेछन् । हामीले कानुनी क्षेत्राधिकारअनुसार उक्त जग्गा संरक्षण गर्न जुटेका छौँ,’ प्रवक्ता मानन्धरले भने ।

सुझावित समाचार