बर्खाको भेलमा र्‍याफ्टिङ

आइतबार, १७ असार, २०८०
डिजिटल संस्करण

मध्य असारको समय। चीनको तिब्बतबाट आउने भोटेकोसी र दोलखाको कालिञ्चोकबाट झर्ने सुनकोसी नदी (बाह्रबिसेबाट दुवै जोडिएपछि सुनकोसी नामले चिनिन्छ) धमिलो छ। दिनरात पर्ने झरीले नदीको सतह धेरै बढेको छ।

राजधानी काठमाडौंबाट आउने आन्तरिक र फाट्टफुट्ट देखिने बाह्य पर्यटकले ‘रातको सहर’ सुकुटे भरिएको छ। सुकुटेमा रहेका १५ रिसोर्टलाई पाहुना सम्हाल्न भ्याइनभ्याई छ। खेतीपाती गर्ने मुख्य समय अनि भारी वर्षातले उर्लेको सुनकोसीमा र्‍याफ्टिङ भने निरन्तर चलिरहेको देख्दा अरनिको राजमार्ग भएर आवतजावत गर्ने मानिस चकित पर्छन् ।

शुक्रबार, शनिबार र सार्वजनिक बिदाको दिनमा सुकुटेका रिसोर्टमा पाँच हजारभन्दा बढी पर्यटक आइपुग्छन्। धेरैजसो मानिस साहसिक खेल र मनोरञ्जन गर्न आउने गर्छन्। र्‍याफ्टिङका लागि मात्र तीन हजारभन्दा बढी आउँछन्। बिदाको दिन सुकुटे क्षेत्रमा र्‍याफ्टिङ गर्नेलाई समय दिँदा खाना खाने समयसमेत पाउन  मुस्किल पर्ने व्यवसायी नारायण श्रेष्ठले बताए।

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज् (नारा)का महासचिवसमेत रहेका सुकुटे भ्याली रिसोर्टका सञ्चालक श्रेष्ठले भने, ‘मासिक १० हजारले र्‍याफ्टिङ गर्छन्। टिममा आठजना पर्यटक, दुईजना कायाक र एकजना रिभर गाइड हुन्छन्। साहसिक खेल भएकाले जत्रै बाढीमा पनि खेल्न सकिन्छ।’

बाढीले बगाएर ल्याएको र नदीमा डुबेका शव निकाल्न  दक्ष रिभर गाइड प्रयोग हुन्छन्। ‘नेपाली सेना र प्रहरीले आग्रह गर्दा हामीले विपत्तिमा फसेकालाई उद्धार गर्छौँ,’ उनले भने। सुकुटे भ्याली रिसोर्ट, र्‍याफ्टिङ स्टार, रिभर वे, सुकुटे बिच, सुनकोसी बिच र सुकुटे रिभर फनले र्‍याफ्टिङ सेवा प्रदान गर्दै आएका छन् । यद्यपि, राज्यले पर्यटन क्षेत्रको भावना नबुझेकोले सोचेजस्तो अन्तर्राष्ट्रिय स्तरको साहसिक खेल क्षेत्र बनाउन नसकिएको र्‍याफ्टिङ  स्टारका प्रोप्राइटर दीपककुमार राई बताउँछन्।

एक किलोमिटर दूरीमा रेस्क्यु प्वाइन्ट, ब्लोइङ मेसिन र वातावरणीय क्षेत्रमा सरकारले लगानी गरेमा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने राईको भनाइ छ। लाइसेन्ससहितको दक्ष प्राविधिक बनाउन नारा र नाथमको सिफारिसमा प्रदेश सरकारले काम गरिरहेको पनि व्यवसायी बताउँछन्।

र्‍याफ्टिङ गर्न विदेशी पर्यटकले बाह्रबिसेदेखि दोलालघाटसम्मको ७५ डलर तिर्छन्। यो वर्ष २५ टिम विदेशीले सुनकोसीमा र्‍याफ्टिङ गरे। बाह्रबिसेदेखि धरान बराह क्षेत्रसम्म १० दिनको र्‍याफ्टिङ ट्रिपको लागि १५ सयदेखि सात हजार डलरसम्म शुल्क तोकिएको छ। आन्तरिक पर्यटकले १५ सय तिरेर छोटो दूरीको र्‍याफ्टिङ गर्छन्। सुकुटेमा प्याराग्लाइडिङ, क्यानोनिङ, कायकिङ, बन्जी, क्लिप्स जम्प, साइक्लिङ, जंगल सफारी, लाइभ कन्सर्टको सुविधा छन्।

रिभर गाइड तयार पार्न र्‍याफ्टिङ स्कुलसमेत सुरु गरिएको छ। पर्यटन क्षेत्रमा लगानी गरेर व्यवस्थित बनाउन सकियो भने एकातिर रोजगारी सिर्जना गर्न सकिन्छ अर्कोतिर राजस्व वृद्धि हुन्छ।

सुझावित समाचार