जब फिनल्यान्डको लेकल्यान्ड किनारमा ‘ह्याप्पिनेस मास्टरक्लास’मा भाग लिन मलाई निमन्त्रणा आयो, मेरा केही साथीले आश्चर्य व्यक्त गरे । लुसीले भनिन्, ‘तपाईं मैले चिनेका सबैभन्दा खुसी व्यक्तिमध्ये एक हुनुहुन्छ । फिनल्यान्डबाट के सिक्ने अपेक्षा गर्नुभएको छ ?’ उनको प्रश्न सही थियो । मैले सधैँ नै निराशावादी व्यक्तिलाई बेवास्ता गर्दै आएको छु । यद्यपि, फिनिसहरू संसारमा सबैभन्दा खुसी मानिसका रूपमा किन लगातार दर्ज भइरहेका छन् भनेर बुझाउन डिजाइन गरिएको चारदिने भ्रमणका लागि म उस्तो सही छनोट भने थिइनँ । तर, एक सदाबहार आशावादीका रूपमा मैले निम्तो सहर्ष स्वीकार गरेँ ।
हामी बेलायतीसँग खुसीलाई जनाउने लगभग विभिन्न ६० शब्द छन्– आनन्द, परमानन्द, खुसी आदि । हामी यो वर्ष पनि खुसीको शीर्ष २० देशभित्र मात्रै परेका छाैँ। तसर्थ, शब्दको यो सूची आश्चर्यजनक रूपमा अधिक लाग्छ । लगातार छैटौं वर्ष सबैभन्दा खुसी राष्ट्रको रूपमा दर्ज फिनल्यान्डवासी या त ‘ओनेलिनेन (सन्तोषी)’ या ‘इलोन (प्रसन्न)’ हुन् ।
पछिल्लो शब्द आनन्दित वा प्रसन्नका रूपमा अनूदित हुन्छ । तपाईं छुट्टीमा जाँदै हुनुहुन्छ भने तपाईं प्रसन्न हुनुहुन्छ । अर्कातर्फ, ओनेलिननले चाहिँ यस्तो क्षणभंगुर खुसीको वर्णन गर्नुको सट्टा आफ्नो जीवनसँग सन्तुष्ट रहने अवधारणालाई जनाउँछ ।
सन् २०१२ मा पहिलोपटक ‘वर्ल्ड ह्याप्पिनेस रिपोर्ट’ सार्वजनिक भएको एक दशकयता डेनमार्क, स्विट्जरल्यान्ड, नर्वे र फिनल्यान्ड गरी चार देशले नै शीर्ष स्थान ओगटेका छन् । रिपोर्ट ‘क्यान्ट्रिल ल्याडर’ नामक मूल्यांकनमा आधारित छ, जसमा उत्तरदातालाई एकदेखि १० को स्केलमा उनीहरूको वर्तमान जीवनको समग्र खुसीको मूल्यांकन गर्न भनिन्छ । प्रतिवेदनले दयादृष्टि, स्वतन्त्रता र विश्वास (भरोसा)लगायत जनखुसीमा प्रभाव पार्न सक्ने थुप्रै पक्षलाई मिहिन ढंगबाट केलाउँछ ।
निःसन्देह, फिनल्यान्डले जिडिपी, समानता, सामाजिक सहयोग, स्वस्थ जीवन तथा आयु, स्वतन्त्रता, उच्च दयालुपन, न्यून भ्रष्टाचारको बलमा विश्वव्यापी खुसी सूचकांकमा राम्रो अंक प्राप्त गर्छ ।
यो श्रेणीमा लगातार चौथो वर्ष पनि बेलायत दुई स्थान खस्किँदै १९औँ स्थानमा झरेको छ । जीवनयापनको लागत, बे्रक्जिट सिर्जित राजनीतिक एवं अन्य समस्यालाई हेर्दा यो आश्चर्यजनक पनि होइन । अझ चिन्ताको कुरा त के भने सन् २०२२ को विश्वव्यापी ‘ओरेकल ह्याप्पिनेस रिपोर्ट’ले बेलायतका झन्डै आधा (४९ प्रतिशत) नागरिकले दुई वर्षमा साँचो सुखको महसुस नगरेको देखाएको छ । हामी अहिले अमेरिका, इजरायल, न्युजिल्यान्ड र लक्जेम्बर्गभन्दा पछाडि छौँ, तर अहिलेका सबैभन्दा कम खुसी देश अफगानिस्तान र लेबनानजस्ता देशभन्दा चाहिँ निकै अगाडि छौँ । बेलायतमा सन्तुष्टिको निरन्तर ह्रास हाम्रा लागि चिन्ताको विषय हो ।
हामी दुःखी बेलायतीले फिनिसहरूबाट के सिक्न सक्छौँ भनेर पत्ता लगाउन, म हेलसिन्कीबाट साढे तीन घन्टाको ड्राइभमा रहेको ‘लेक साइमा (साइमा ताल)’ गएँ । यो रिसोर्ट फुर्सदिलो पाराले मज्जा लिन डिजाइन गरिएको छ । धुपीसल्लाको मगमगाउँदो वनभित्र बनेका प्रत्येक भिल्लाको आफ्नै साउना छ । सुगन्ध, संगीत र अन्य सामग्री सबै नै इन्द्रियलाई आकर्षित गर्ने गरी र अतिथिहरूको आराममा मद्दत पुग्ने गरी डिजाइन गरिएका छन् । साथीहरूले ठिकै भनेका हुन् ‘यहाँ कोही कसरी खुसी नभइरहन सक्छ र ?’
मेरो आरामदायी बसाइले फिनल्यान्डले सबैलाई कसरी खुसी बनाएको छ भन्ने कुरा बुझाइदियो । उनीहरूले धेरै चिज सही पाएकोमा शंका छैन । उनीहरूको साउना प्रेम एउटा उदाहरण हो । साउना स्वास्थ्य लाभका लागि परिचित छ । मनलाई शान्त बनाउन यो सानदार हुन्छ । ५५ लाखभन्दा केही मात्रै बढी जनसंख्याका लागि ३० लाख साउनासहित फिनल्यान्डले निश्चित रूपमा यसलाई दैनिक जीवनमा एकीकृत गरेको छ ।
उनीहरू बाहिर प्रकृतिमा समय खर्च गर्न रुचाउँछन् । यो कुरामा म अलि पछाडि नै छु । यो फजुलखर्ची वा महँगो पनि हुँदैन । फिनिसहरूको खुसीमा प्रकृतिसँगको पहुँचको पनि निश्चित रूपमा भूमिका छ । केही अध्ययनले रुखहरूको बीचमा १५ मिनेट मात्र बिताउँदा पनि रक्तचाप कम हुने र शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार आउँने देखाएका छन् । उनीहरूसँग ४१ वटा राष्ट्रिय निकुञ्ज छन्, ती सबैमा प्रवेश निःशुल्क छ ।
६४७ वटा नदी छन् भने ११ सय किलोमिटरभन्दा बढीमा विस्तारित समु्द्री तट क्षेत्र छ । यसबाहेक दसौँ हजार द्वीप छन् । हाम्रो गाइडले कफी लिन बिहान पैदल बाहिर निस्किँदा पनि स्वास्थ्य लाभ हुनेमा जोड दिए । तर, यस टापुको सुनसान भागमा रुखहरूले घेरिएको र निर्मल पानीको तालछेउ उभिएर कफी पिउँदै आगोको सुगन्ध लिँदै गर्दा म गेलको बिहानी पैदलयात्रमा यतिको शान्ति महसुस हुनेमा पूर्णतया विश्वस्त भइनँ ।
निःसन्देह, फिनल्यान्डले जिडिपी, समानता, सामाजिक सहयोग, स्वस्थ जीवन तथा आयु, स्वतन्त्रता, उच्च दयालुपन, न्यून भ्रष्टाचारहरूको बलमा विश्वव्यापी खुसी सूचकांकमा राम्रो अंक प्राप्त गर्छ । फिनिसहरूले पनि हामीले जस्तै चुनौतीको सामना गर्छन्, तर उनीहरूको प्रतिक्रिया तीन प्रमुख तत्वहरू, समानता, शिक्षा र पारदर्शितामा आधारित हुन्छ । तर, यसभन्दा बढी फिनिसहरूमाझ एक मनोवृत्ति छ, जुन म ब्रिटिसमा देख्दिनँ । उनीहरू आफ्नो आशावादिताप्रति सधैँ छक्क पर्छन् । यो आफ्नो भाग्यप्रति आभारीको भाव हो । यो अवधारणा फिनल्यान्डको उखानमा पनि प्रतिध्वनित छ, जसको अर्थ ‘खुसी भनेको अभाव र अधिकताबीचको अवस्थिति हो ।’
यो यात्रामा मैले सबैभन्दा ठूलो कुरा, फिनिसहरूको आनन्दभन्दा सन्तुष्टिप्रतिको ध्यानमा पाएँ । दोस्रो दिन मैले टिमो औभिनेनलाई भेटेँ, जो साइमा तालको वरिपरि पैदल यात्रा गाइड गर्छन् । मैले उनलाई तिम्रो देशको खुसीको रहस्य के हो भनेर सोधेको थिएँ । उनले फिस्स हाँस्दै फिनिसहरूसँग आफ्नो खुसीको खोजीबारे थुप्रै भनाइ रहेको बताए । तिनमा ‘निराशावादी कहिल्यै निराश हुँदैनन्’ अनि ‘खुसी सधैँ आँसुमा समाप्त हुन्छ’ तर ‘कुनै पनि कुरा यति खराब हुँदैन कि जसमा एउटा पनि राम्रो कुरा नहोस्’ लगायत छन् । ‘फिनिसहरूको कम अपेक्षाले निराशाका लागि ठाउँ पनि एकदमै कम छोड्छ, जसको अर्थ सन्तुष्टिका लागि कम चाहना वा पूरा हुने अपेक्षा मात्रै राख्नुपर्छ भन्ने हो,’ उनले उल्लेख गरे ।
यी सबैले मलाई फिनिसहरू सही भएको सोच्न बाध्य बनायो । सबै कुराको चाहना गर्नुभन्दा तातो कफी, अपरिचित व्यक्तिप्रति दयापूर्ण व्यवहार, निःशुल्क पार्क, मोहक रुखबिरुवाजस्ता हामीसँग पहिल्यै भएका कुराको अधिकतम उपयोग गर्ने कोसिस गर्नुपर्छ । खुसीको कहिल्यै नटुंगिने खोजमा केन्द्रित रहेर कतै हामीले खुसीको अवसर त गुमाइरहेका छैनौँ भनेर गम खाएँ । आनन्दको लालसा गर्नुको सट्टा हामीले पुरानो शैलीकै सन्तोषसँग सन्तुष्ट रहुनुपर्छ । र, कहिलेकाहीँ पार्कमा हिँड्न छुटाउन हुदैन ।
– द गार्जियनबाट