आज असार १५ को दिन देशभर करिब ६० लाख लिटर दही खपत हुने भएको छ। ६० लाख लिटरबाट करिब ८४ करोड रुपैयाँको कारोबार हुने नेपाल डेरी एसोसिएसनले जनाएको छ ।
आजको दिन अन्य समयको भन्दा बढी दही खपत हुन्छ । यसका लागि नेपाल डेरी दुग्ध विकास संस्थाले एक हप्ताअघि देखि नै आजका लागि तयारी थाल्ने गरेको नेपाल डेरी एसोसिएनका अध्यक्ष प्रह्लाद दाहालले बताए ।
सामान्य समयमा दैनिक ११ देखि १२ लाख लिटर दही बिक्री हुने गरेको छ। धान दिवसको दिन दहीको माग पाँच गुणा बढ्ने गरेको एसोसिएसनले जनाएको छ। पानी परेमा अनुमानभन्दा २० प्रतिशत कम दही खपत हुन्छ भने घाम लागेको समय अझ बढ्ने दाहालको भनाइ छ ।
सामान्य समयमा ३१ लाख कच्चा दूध आउने गरेको छ। यसमध्ये ५० प्रतिशत दूध बजारमा जान्छ। ३५ प्रतिशत दहीमा बनाउन प्रयोग हुन्छ। १५ प्रतिशत बटर र खुवा बनाउन प्रयोग हुँदै आएको छ । अघिल्लो वर्ष संस्थानले असार १५ का दिन ८० लिटर दही बिक्री गरेको थियो । यसपटक आर्थिक मन्दीका कारण गत वर्षको जस्तो माहोल नभएको दाहालको भनाइ छ । उनले भने, ‘गत वर्ष निकै राम्रो थियो, यसपटक आर्थिक मन्दीलगायत विभिन्न कारणले व्यवसाय विगतभन्दा सुस्त छ ।’