चुनावको मिति तोक्न क्यानको बैठक आज

चतुरबहादुर चन्दको चारवर्षे कार्यकाल सकिनै लाग्दा क्यानले निर्वाचनको नयाँ मितिलाई मुख्य एजेन्डा बनाएको छ

शुक्रबार, १५ असार, २०८०
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय चुनावको मिति तय गर्न शुक्रबार मूलपानीमा बैठक डाकेको छ । चतुरबहादुर चन्दको चारवर्षे कार्यकाल सकिनै लाग्दा क्यानले बोर्ड बैठकबाट नयाँ मिति तोक्ने मुख्य एजेन्डा बनाएको छ । क्यानले जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन मिति तोक्नेछ । क्यानले आफ्ना सबै सदस्यलाई यसको जानकारी दिएको छ । ‘यो नियमित बैठक हो । चुनावको कार्यतालिका बनाउन, जिल्ला, प्रदेश र केन्द्रको मिति तय गर्नेलगायत एजेन्डा छन्,’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले नयाँ पत्रिकालाई बताए । 

नेपालमै आयोजना भएको एसिसी प्रिमियर कप र मूलपानी मैदान भाडामा दिने विषयसमेत बैठकमा प्रवेश पाउन सक्छ । वर्षभरको आयव्यय, नेपालको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भएका प्रदर्शनमाथि छलफल हुने उनले बताए । यद्यपि, क्यानले एजेन्डा सदस्यहरूलाई दिएको छैन । गता १९ जेठमा नेपालले युएईलाई हराउँदै एसिया कपमा स्थान बनाएकै दिन क्यानको साधारणसभा बसेको हो । 

त्यस साधारणसभालाई एक समूहले अवैधानिक मानेको छ । शुक्रबार बस्ने बैठकमा पनि केही अवरोध सिर्जना हुन सक्छ । पछिल्लो समय आधा दर्जन सदस्यले क्यानको बैठक छाड्दै आएका छन् । सदस्यहरू मोहमद दाउद अन्सारी, छुम्बी लामा, ऋषिराम गौतम, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे र धर्मराज गिरी चन्दले पोखरामा १४ फागुनमा भएको बैठक असन्तुष्टि जनाउँदै छाडेका थिए । 

 महाप्रबन्धक खनाल क्यानसँग असन्तुष्ट
महाप्रबन्धक वृतान्त खनाल पछिल्लो समय क्यानसँग असन्तुष्ट देखिन्छन् । क्यान स्रोतका अनुसार उनी राजीनामा दिने मनशायमा छन् । मूलपानी मैदान भाडामा दिने विषयमा विवाद भएपछि खनालले राजीनामा दिन सक्ने क्यान स्रोतले बताएको छ । खनालले यस सम्बन्धमा सत्यता नभएको बताएका छन् । ‘धेरैले मैले राजीनामा दिएको भनेका छन्, तर त्यो सत्य होइन,’ खनालले भने, ‘यसबारेमा शुक्रबारै स्पष्ट हुनेछ ।’ खनाल ०७९ वैशाख ३ देखि क्यानको महाप्रबन्धक नियुक्त भएका थिए । रौनक मल्लको करार थप नभएपछि खुला प्रतिस्पर्धाबाट खनाल क्यानमा प्रवेश गरेका हुन् । 

क्यानका कार्यवाहक सचिव पाठकले पनि खनालले राजीनामा दिएको प्रसंग केवल अफवाह मात्र भएको बताए । ‘उहाँले किन राजीनामा दिनुपर्यो ?’ पाठकले भने, ‘अहिले राम्रो भइरहेको समयमा अफवाह फैलाइएको हो ।’ पाठकले मूलपानी मैदान भाडामा दिने विषयमा विवाद उत्पन्न भएको स्विकारेका छन् । तर, उनले यो विषय सामान्य भएको बताए । ‘मूलपानी मैदानको भाडाका विषयमा कुरा भएको हो । एसिसी प्रिमियर कप आयोजनापछि यो मैदान खाली छ,’ उनले भने । 

सुझावित समाचार