एमाले सचिव योगेश भट्टराईमाथि पहिचान पक्षधरहरूले इलाममा कालो झन्डा देखाएका छन्। एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा इलाम सदरमुकममा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा आज पहिचान पक्षधरहरूले भट्टराईलाई कालो झन्डा देखाएर अवरोध गर्ने कोसिस गरेका हुन्।
घटनापछि सचिव भट्टराईले शान्तिपूर्ण प्रदर्शन स्वाभाविक भए पनि हिंसाजन्य घटना एमालेका लागि मान्य नहुने बताएका छन्। मदन भण्डारीजस्ता युगपुरुषको स्मरणका लागि गरिएको कार्यक्रम बिथोल्न खोज्नु स्वयं उनीहरूका लागि लज्जाको विषय भएको उनको भनाइ छ।
‘मदन भण्डारीजस्ता युगपुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु स्वयं उहाँहरूका लागि पनि लज्जाको विषय हो। हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ। उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोसी प्रदेशको समस्या हल नहुने भन्दै एमाले वार्ता र संवादका लागि हरबखत तयार रहेको बताएका छन्।
सामाजिक सञ्जालमा भनिएको छ, ‘मदन भण्डारी फाउन्डेसन इलामले ७२औँ मदन जयन्तीका अवसरमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा जाँदै गर्दा इलाम बजारमा केही व्यक्तिले कालो झन्डा देखाउनुभयो। कार्यक्रम इलामको जिविस हलमा सानदार रूपले सम्पन्न भएको छ। नेपाली कांग्रेसका युवा नेता गुरु घिमिरे र मैले मुख्य वक्ताका रूपमा लोकतन्त्र र चुनौतीबारेमा मन्तव्य राखेको उक्त कार्यक्रममा सहभागितामूलक छलफल पनि भएको थियो।’
भट्टराईले अगाडि भनेका छन्, ‘एमाले फरक विचार र मतलाई सम्मान गर्ने पार्टी हो। अधिकारका लागि म स्वयं र मजस्ता लाखौँले लडेर ल्याएको विरोध गर्ने अधिकारको अभ्यास स्वरूप उहाँहरूले आज मलाई कालो झन्डा देखाउन पाउनुभयो। यो लोकतन्त्रको संघर्षमा हामीले बिताएको समयले सार्थकता पाएको अनुभूति भएको छ। हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ। उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन।’